अनुश्री आचार्य
मानिसको जीवनमा शिक्षाले धेरै महत्त्व राखेको हुन्छ । शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम हो । शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ । यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा भनेको विद्यालयमा गएर मात्र पाउने होइन । घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैँ गर्नुभनेको पनि शिक्षा लिनु हो । अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । पहिलेको समयमा धेरै विद्यालय थिएनन् । भएका विद्यालयमा पनि केटाहरू मात्र पढ्न पाउँथे । विभेदले जरा गाडेको थियो । केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यताले प्रश्रय पाएको थियो । अहिले समय बदलिँदै आएको छ । छोराछोरी दुवै विद्यालय जान पाउँछन् । शिक्षाकै कारण समाजमा मानिसको घृणादायक र नराम्रो सोचमा केही मात्रामा परिवर्तन आएको छ ।
शिक्षाले परिवर्तनको खोजी गर्छ । अहिले धेरै कुरामा राम्रो परिवर्तन ल्याएको छ तर पनि अझै अन्धविश्वास र पुरातनवादी परिवारका सदस्यहरूलाई पनि बदलिँदो शिक्षाको महìवबारे बुझाउनुपर्ने समय आएको छ । अहिलेको पुस्ताका कतिपय युवामा अझै पनि पुरानो अन्धविश्वासी सोच पाल्नाका कारण छोरीहरू अपमानित हुनुपरेका घटना छन् । महिनावारी हुँदा परिवारका सदस्यहरूसँग बस्न नहुने, अलग्गै बसेर खाना खानु पर्ने, यति दिन उति दिन भनेर छुट्याउने, विभेद गर्नेजस्ता हेपाहा प्रवृत्तिको अन्त्य गर्न र गराउन परिवारभित्रै सदस्यलाई थप शिक्षा दिनुपर्ने आवश्यकता देखिएको छ । छोरीहरूमा आउने प्राकृतिक परिवर्तनलाई सामान्य रूपमा स्वीकार गरी विभेदको अन्त्य गर्न सबै नागरिकलाई चेतनामूलक शिक्षाको आवश्यकता देखिन्छ ।
परिवार हाम्रो पहिलो पाठशाला हो । मानिसले जन्मिँदै सबै कुरा जानेर आएको हुँदैन । सुरुमा परिवारबाट नै केही कुरा सिक्छ । परिवारका सदस्यहरू हजुरबुवा, हजुरआमा, बुवा, आमा, काका, काकी, दाजुभाइ, दिदीबहिनी सबैबाट शिक्षा प्राप्त हुन्छ । त्यसैले परिवारको वातावरणले एउटा बच्चाले के सिक्छ भन्ने कुराको महìव राख्छ । परिवारका सदस्यहरूले जस्तो गर्छन् बच्चाले त्यसकै अनुकरण गर्दछ र त्यही सिक्छ । त्यसैले परिवारका सदस्यहरूले राम्रो व्यवहार गरेपछि साना बालबालिकाहरू पनि असल व्यवहारका हुने गर्दछन् ।
हाम्रो देशका केही गहनाहरूको उदाहरण लिन सकिन्छ । वरिष्ठ साहित्यकार पारिजातले आफू बिरामी भएर उठ्न नसक्ने अवस्थामा पनि शिरीषको फूल भन्ने किताब लेखिन् । अहिले त्यो किताब अमेरिकाको एक विद्यालयमा राखिएको छ । उनले यो किताब लेखेर आफ्नो र आफ्नो देशको छवि धेरै उच्च बनाएकी छिन् । यो उनले दिएको योगदान शिक्षाका कारण भएको हो । उनी मात्र हैन पासाङ ल्हामु शेर्पाले पनि धेरै पटक सगरमाथा चढ्न सफल भइन् । उनलाई हिमाल चढ्नका सबै खतराका बारेमा थाहा थियो । यो ज्ञान र शिक्षाले गर्दा उनले संयमता अपनाउन सकिन् र त्यसपश्चात् उनले सगरमाथा चढेर चुचुरामा नेपालको झन्डा फहराइन् ।
त्यसैले कहिल्यै पनि पढ्न र केही काम गर्न छाड्नु हुँदैन । त्यसमा जोखिम छ भने पनि एक पटक आफ्नो हिम्मत, साहस, ज्ञान, बुद्धि, विवेक प्रयोग गरेर प्रयास गरियो भने दुनियाँमा असम्भव भन्ने केही छैन । यसका लागि सही र उचित व्यावहारिक शिक्षा लिनु जरुरी हुन्छ ।
नेपालजस्तो मुलुकमा हरेक व्यक्तिलाई सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा दिनुपर्दछ । विद्यालयीय शिक्षाले मात्र सबै मानिसमा परिवर्तन आउँछ भन्ने हुँदैन । छोराछोरी दुवै बराबर हुन् भन्ने चेतनाको विकास गराउन घर–घरबाट अभियान थाल्नुपर्ने आवश्यकता देखिन्छ ।