• १३ भदौ २०८२, शुक्रबार

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

blog

भद्रपुर (झापा), भदौ १३  गते । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो ।

शरीर कमजोर भए पनि उहाँको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण–जीवनसाथी जस्तै बनेको आरन, हथौँडा र फलामसँगको नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो ।

बाल्यकालदेखि नै आरन–हथौँडा देखेर हुर्किएका उहाँ २०३४ तिर झापाको साविक गोलधाप बजार आउनुभयो । यहाँ आएपछि उहाँले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर कुखुरी, बञ्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाल्नुभयो । “धान रोप्ने बेला किसान हँसिया ‘माग’ गर्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्थ्यो”, बराइली भन्नुहुन्छ ।

बराइलीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् । बराइली भन्नुहन्छ, “अझै पनि पसलमै दिन बिताउँछन् । बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन् ।”

जीवनमा धेरै उतारचढाव देख्नुभएका उहाँ हाल श्रीमतीसँगै गोलधापमा बस्नुहुन्छ । दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् । एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन् । सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ ।

“मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो”, बराइली भावुक हुँदै भन्नुहुन्छ । तर उहाँसँगै यो सीप हराउने डर पनि बढेको छ । “छोरानाति कसैले सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशमै छ । अब मेरोपछि यो काम सकिने भयो,” उहाँले दुःखेसो पोख्नुभयो ।

बराइलीमात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् । बढैया, शिल्पी, कामी वा लोहारसबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् । जीवनभर पुर्ख्यौली पेसालाई अँगाल्नुभएका उहाँले परिवार पाल्न सके, समाजलाई योगदान दिए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ । बराइली भन्छन्, “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो ।”

उहाँको चाहना केवल व्यक्तिगत इच्छामात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो । अब प्रश्न उठ्छ – हामी मौलिक पेसा जोगाउन तयार छौँ वा बराइलीसँगै हराउँदै जान दिनेछौँ ? रासस