• ११ भदौ २०८२, बुधबार

बागलुङमा कृषियोग्य जमिनको उपयोगिता बढ्यो

blog

बागलुङको ताराखोला गाउँपालिकामा गरिएको अलैची खेती । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ ११ गते ।
जिल्लामा पछिल्लो आठ वर्षमा कृषियोग्य जमिनको उपयोगिता बढेको छ । सुविधाका लागि शहरमा बसाइसराई गर्ने प्रचलनले गाउँघर रित्तिने र उर्वरभूमि बाँझिने क्रम बढिरहेका बेला व्यवसायिक कृषि उत्पादनमा किसानले जमिनको उपयोग बढाएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना बागलुङको तथ्याङ्कले देखाउँछ ।

व्यवसायिक र चक्लाबन्दीमा कृषि उपज बढाउने लक्ष्य राखेपछि कृषियोग्य भूमीको उपयोगिता बढेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताउनुभयो । ‘‘पहाडी भूगोलमा चक्लाबन्दी बनाएपनि तोकेको क्षेत्रफल पुर्‍याउन कठिन हुँदा लक्ष्य प्राप्तीमा असर परेको छ’’ पौडेलले भन्नुभयो । क्षेत्रफलको मापदण्ड घटाएमा पहाडी जिल्लामा उपलब्धी हासिल गर्न सकिने उहाँको बुझाइ छ ।

परियोजनाको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७३/०७४ मा मकै जोनका लागि जिल्लामा पाँच सय ८३ हेक्टर क्षेत्रफल मात्रै थियो । आर्थिक वर्ष २०८१/०८२ मा बढेर ७ सय ९८ हेक्टर अर्थात् ३६ प्रतिशतमा पुगेको छ । आलु उत्पादनका लागि उपयोग भएको पाँच सय ४४ हेक्टर जमिनबाट ६ सय १० हेक्टर पुगेको छ । यो १२ प्रतिशतभन्दा बढी हो ।

यस्तै, धान जोनतर्फ ६ सय ५० हेक्टरबाट बढेर एक हजार चार सय २७ हेक्टर अर्थात् एक सय १९ प्रतिशत पुगेको छ । तरकारी उत्पादनमा १४ प्रतिशत वृद्धि भएको छ । बाख्रा जोनतर्फ आर्थिक वर्ष २०७८/०७९ मा २६ हजार ६ सय ७५ बाख्रा रहेकोमा अहिले बढेर ४१ हजार पाँच सय १३ वटा पुगेको छ । दुई वर्षअघि बनेको अलैची जोनका लागि तीन सय ३९ हेक्टर जमिन उपयोग हुँदा दुई हजार केजी अलैची उत्पादन भइसकेको छ ।

परियोजनाले जोन क्षेत्रमा प्रशोधन उद्योगका लागि भवन निर्माण गर्ने, रस्टिक स्टोर बनाउने, बीउ भण्डारनका लागि भवन बनाउने र कृषि यान्त्रिकरणका लागि उपकरणहरु सहयोग गर्ने काम गरेको परियोजना प्रमुख पौडेलले बताउनुभयो । चक्लाबन्दीमा सुन्तला, ओखर, तरकारी, कागती, किवी र स्याउ खेती गरिएको छ । धान जोन बिस्तारका लागि जेठोबुढो धानको बीउ ७ हेक्टरमा लगाइएको छ । मकै जोनतर्फ १५ हेक्टरमा अरुण २ र मनकामना ३ जातको बीउ प्रमाणित समेत गरिएको हो ।

उद्यमशिलता कार्यक्रम सञ्चालन गरिरहेको परियोजनाले बाख्राको नस्ल सुधार गरेर उत्पादन बढाउनुका साथै मौरीपालक किसान, अचार बनाउने, बाँकोको गुन्दु्रक तथा आलुको चिप्स बनाउने किसान समूहलाई प्याकेजिङ र लेबलिङमा परियोजनाले साथ दिएको छ । बाख्राको खोर निर्माणमा अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ । परियोजनाले चालु वर्ष जोन र सुपरजोन प्रभाव क्षेत्रमा उत्पादनको क्षेत्रफल विस्तारको कार्यक्रम गर्दे छ ।