• १० भदौ २०८२, मङ्गलबार

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भोबिच भेट

द्विपक्षीय सहकार्यको आधार निर्माण

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग भियतनामका उपराष्ट्रपति भो थी आन सुआन प्रतिनिधिमण्डलका साथ सोमबार शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, भदौ १० गते । नेपाल र समाजवादी गणतन्त्र भियतनामबिच सामाजिक, सांस्कृतिक एवं आर्थिक विकासको नवीनतम आधारशिला निर्माण गर्ने समझदारी भएको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा भियतनामका उपराष्ट्रपति भो थी आन सुआनको नेपाल भ्रमणले दुई देशबिच बलियो सहकार्यको आधार निर्माण गरेको हो । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा भदौ ७ गते नेपाल आउनुभएका भियतनामका उपराष्ट्रपति भोले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटवार्तामा द्विपक्षीय साझेदारी, लगानी, व्यापार, हवाईसेवा, डिजिटल प्रविधिमा सहकार्यसहित दुई देशबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा संवाद भएको छ । 

राष्ट्रपति पौडेलले नेपाल र भियतनामबिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उहाँले द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको बताउनुभयो । 

राष्ट्रपति पौडेलले नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत् जस्ता क्षेत्रमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रका रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबिचको गहिरो सम्बन्धका लागि सेतुका रूपमा रहेको बताउँदै भियतनामका नागरिकले जीवनमा एक पटक लुम्बिनी आएर भगवान् गौतम बुद्धको जन्मस्थल भ्रमण गर्नैपर्ने पवित्रस्थलका रूपमा हेर्नु खुसीको विषय भएको बताउनुभयो । 

बृहत् फ्रेमवर्क बनाउनु पर्छ 

भियतनामका उपराष्ट्रपति भोले नेपालले सन् २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको बताउँदै भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने लक्ष्य राखेको स्मरण गर्नुभयो । उहाँले सन् २०३० भन्दाअघि नै दुई देशबिच बृहत् सम्बन्धको फ्रेमवर्क बनाउन जरुरी भएको बताउनुभयो । 

उपराष्ट्रपति भोले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबिच सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताउनुभयो ।

उपराष्ट्रपति भो स्वदेश फिर्ता 

परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति सुआनबिच प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा ५० औँ वार्षिकोत्सवको अवसरलाई सदुपयोग गर्ने गरी संवाद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवमा भियतनामका उपराष्ट्रपति भो नेपाल भ्रमणमा आउनुभएको हो ।  नेपाल–भियतनाम मैत्रीसङ्घका पदाधिकारीसँग पनि संवाद भयो । समग्रमा दुई देशबिचको सम्बन्धलाई नयाँ अध्यायमा लाने गरी समझदारी निर्माण भएको छ ।”

प्रवक्ता पौडेलका अनुसार सोमबार स्वदेश फर्किनुअघि उपराष्ट्रपति भोले पाटन दरबार दरबार क्षेत्रको भ्रमण एवं अवलोकन गर्नुभयो । उहाँलाई ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्दै ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वबारे जानकारी दिनुभयो । 

त्यसै गरी उपराष्ट्रपति भोले बौद्धनाथको अवलोकन र परिक्रमा गर्नुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उहाँलाई स्वागत गर्दै बौद्धनाथको ऐतिहासिक एवं धार्मिक पक्षबारे जानकारी दिनुभयो । तीनदिने नेपाल भ्रमण पूरा गरी उपराष्ट्रपति भो सोमबारै स्वदेश फर्किनुभएको छ ।