• ९ भदौ २०८२, सोमबार

विश्व बन्धुत्व दिवसमा एक लाख युनिट रगत सङ्कलन

blog

बागलुङमा गरिएको रक्तदानका सहभागीहरु । तस्बिर : गोरखापत्र

रामकृष्ण बोहरा

बागलुङ, भदौ ९ गते । विश्व बन्धुत्व दिवस तथा राजयोगी प्रकाशमणीको १८औँ स्मृतिमा एक लाख युनिट रगत सङ्कलन भएको छ । 

ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय समाजसेवा प्रभागको आयोजनामा नेपालभरका शाखा र क्षेत्रीय कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा एक लाखभन्दा धेरै मानिसले रक्तदान गरेको बागलुङस्थित क्षेत्रीय कार्यालयकी प्रमुख साबित्री बरालले जानकारी दिनुभयो । 

रक्तदान शिविरका लागि नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, रक्तसंचार केन्द्र, नेपाली सेनाको २३ नम्बर बाहिनी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

शनिबारदेखि विभिन्न कार्यक्रममार्फत देशभर दिवश तथा स्मृतिका कार्यक्रम संचालन भैरहेका थिए । आइतबार सम्ममा ८० हजार युनिट सङ्कलन  भएकोमा सोमबार १ लाखभन्दा बढी संकलन भैसकेको र यकिन तथ्यांक आउन बाँकी रहेको बराललले बताउनुभयो । 

मानसिक शान्तिको लागि योगअभ्यास र अन्य क्रियाकलाप गराउने विश्वविद्यालयले मानव जीवन बचाउनका लागि रक्तदानमार्फत योगदान गरेको हो । आम नागरिकलाई यो संस्था समाजको अभिन्न अंग भएको समेत यो कार्यले पुष्टी गरेको बरालको भनाई थियो ।

‘‘शरीर अस्वस्थ भएमा अस्पतालमा गएर उपचार गराउने हो, तर मन अशान्त भयो भने केही गर्न सकिंदैन’’ बरालले भन्नुभयो, ‘‘मन स्फूर्ती बनाउने र तनाब कम गर्न ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले साथ दिन्छ ।’’ 

सोमबारको अभियान शुभारम्भ कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भौतिक बिकासले मात्र मानव सन्तुष्ट नभएको र तनाबहरु बढीरहेको अबस्थामा शान्ति मिल्ने कार्यक्रमले आम नागरिकलाई सहयोग पुगेको बताउनुभयो । 

उहाँले हरेक नागरिकको तनाब कम भएमा बाँच्ने समय बढ्ने, समाजमा बेमेल हट्ने र आरोग्य पनि थपिने धारणा व्यक्त गर्नुभयो । बागलुङमा सोमबार भएको कार्यक्रममा मात्रै ६० जनाले रक्तदान गरेको ब्रम्हकुमारी स्मृतिले जानकारी दिनुभयो ।