• ९ भदौ २०८२, सोमबार

इन्डोनेसिया, अमेरिका र सहयोगी राष्ट्रद्वारा संयुक्त सैन्य अभ्यास सुरु

blog

संकेतिक तस्बिर

जाकर्ता, भदौ ९ गते । इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यास एक हप्ताभन्दा बढी समयसम्म चल्ने छ । अभ्यासमा ११ देशका सहयोगी पनि सहभागी छन् । अभ्यासले एसिया-प्रशान्त क्षेत्रमा स्थिरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

वार्षिक ‘सुपर गरुडा सिल्ड’ अभ्यास सेप्टेम्बर ४ सम्म राजधानी जकार्ता, सुमात्राको पश्चिमी टापु र रियाउ द्वीपसमूहका विभिन्न स्थानहरूमा सञ्चालन हुने छ । अस्ट्रेलिया, जापान, सिङ्गापुर, फ्रान्स, न्युजिल्यान्ड, बेलायतलगायतका राष्ट्रका सहभागीसँगै चार हजार एक सयभन्दा बढी इन्डोनेसियाली र एक हजार तीन सय अमेरिकी सैनिकले अभ्यासमा भाग लिने छन् ।

अमेरिका र अस्ट्रेलिया जस्ता केही देशले प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे चिन्ता व्यक्त गरेका छन् । तर वासिङ्टनले यो अभ्यासले बेइजिङलाई लक्षित नगरिएको बताएको छ । युएस इन्डो-प्यासिफिक कमान्डका कमान्डर स्यामुएल पापारोले यस वर्षको अभ्यास ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सुपर गरुडा सिल्ड’ भएको बताउनुभयो । 

“यसले सार्वभौमसत्ताका सिद्धान्तहरू कायम राख्न र हिंसाको प्रयोगबाट भू-राजनीतिक स्थिति परिवर्तन गर्न चाहने जो कोहीलाई रोक्न सबै सहभागीको सामूहिक दृढ सङ्कल्प प्रतिनिधित्व गर्दछ”, पापारोले भन्नुभयो, “हामी सबै डोमेनमा दैनिक अभ्यास गर्दैछौँ, ताकि साझेदार आवश्यक पर्दा हामी छिटो र विश्वासका साथ कार्य गर्न सक्षम हौँ ।” अभ्यासमा कर्मचारी अभ्यास, साइबर डिफेन्स ड्रिल र लाइभ फायर कार्यक्रम समावेश रहेको इन्डोनेसियाली सेनाले जनाएको छ ।

भारत, पपुवा न्यु गिनी र पूर्वी टिमोर लगायतका देशले पनि अभ्यासका लागि पर्यवेक्षक पठाएका छन् । इन्डोनेसियाले तटस्थ विदेश नीति कायम राख्दै महाशक्ति प्रतिस्पर्धामा कूटनीतिक सन्तुलनका साथ वासिङ्टन र बेइजिङसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । रासस/एएफपी