• ९ भदौ २०८२, सोमबार

मल खोज्न साइकलमा तिस किलोमिटर

blog

मलको खोजीमा भारतीय बजार पुगेर फर्कंदै गरेका कृषक । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), भदौ ९ गते । धान खेतीको मौसम चलिरहेको छ तर बर्दियाका किसान भने रासायनिक मलको खोजीमा दैनिक कष्ट सहन बाध्य छन् । बारबर्दिया नगरपालिका–४, रानीपुर बरबट्टाका किसान रामप्रसाद थारू आइतबार बिहानै गुलरिया नगरपालिका–१० स्थित नेपाल–भारत सीमाक्षेत्रसम्म युरिया मल खोज्न १५ किलोमिटर साइकल चढेर पुग्नुभयो । मल लिएर फर्कंदासमेत त्यति नै दुरी तय गर्नुपर्ने भएकाले उहाँले मल खोज्न ३० किलोमिटर लामो यात्रा गर्नुपर्‍यो ।

थारू मात्र होइन बारबर्दिया र मधुवन नगरपालिकाका सयौँ किसान बिहानैदेखि साइकल हाँकी भारतको भादापुरवा पुग्छन् । उनीहरूलाई मल खरिद गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निगरानी छल्दै, कहिले त नेपाली सुरक्षाकर्मीलाई फकाउँदै त कहिले भारतीय सुरक्षाकर्मीलाई बिन्ती गर्दै अघि बढ्नुपर्ने बाध्यता छ ।

“देशभित्र मल पाइँदैन । बिहान ४ बजे घरबाट हिँडेका हौँ, गुलरिया पुग्दा ९ बज्यो । अब एक बजेसम्म घर पुगिन्छ भन्ने आस छ,” रामप्रसाद थारूले भन्नुभयो । सुरक्षाकर्मीको त्रास अर्को छ । सञ्चारकर्मी भएको थाहा पाएपछि मात्रै उहाँले खुलेर बोल्न सक्नुभयो । 

यस्तै समस्या भोगेका रानीपुरका भुलही थारूले भने दिनभरि साइकल चलाएर पनि मल पाउनुपर्ने बाध्यताले खेतीकिसानी कठिन बन्दै गएको बताउनुभयो ।

बर्दिया जिल्लामा सरकारी ढुवानीमार्फत मल न्यून मात्रामा आउने गरेको छ । पर्याप्त आपूर्ति नहुँदा किसानलाई भारतीय बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्था छ । जेठ मसान्तसम्म प्रतिबोरा दुई हजार छ सय रुपियाँमा पाइने मल हाल भारतीय बजारमा दुई हजार ६५० रुपियाँसम्म पुगेको छ । बर्दियामा मात्रै करिब ५० हजार २५० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यसका लागि करिब १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । गत वर्षको तथ्याङ्क अनुसार बर्दियामा वर्षभरिमा जम्मा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया भित्रिएको थियो ।