• ८ मंसिर २०८१, शनिबार

कथा रोपाइँको

blog

रामप्रसाद धिताल 

केही दिनअघि ‘किसान’ कविता पढाउने क्रममा शिक्षकले रोपाइँ गरिरहेका मानिसहरूको चित्र ल्याएर देखाउनुभएको थियो । कोपिला दशैँ, तिहारताका घर र मामाघर जाँदा बाटामा पर्ने खेतहरूमा पहेँला धान झुलिरहेका हुन्थे तर धान कसरी रोपिन्छ भन्नेचाहिँ देखेकी थिइनन् । असार लागेदेखि नै यसपालि रोपाइँ गरेको हेर्न बुवाआमासँगै पहाड घर जानुपर्छ भनेकी थिइन्  । बुवाले पनि हुन्छ भन्नुभएको थियो । उनको स्कुलमा अहिले एक हप्ता बर्खे बिदा भएको छ । यही मौका पारेर बुवाले पनि अफिसमा केही दिनका लागि बिदा मिलाउनुभयो । कोपिला बुवाआमासँग रमाउँदै पहाड घर जाने भइन् । उनीहरू रत्नपार्कमा गएर मेलम्चीको गाडीमा चढे ।

गाडी कोटेश्वर, सूर्यविनायक, नलिञ्चोक हुँदै अघि बढ्यो । बनेपामा केहीबेर रोकेर गाडी धुलिखेल तीनपिप्ले, कुन्ताबेसी, पाँचखाल लामीडाँडा हुँदै अगाडि बढ्यो बुवाले कोपिलालाई ठाउँको नाम चिनाउँदै जानुभयो । आमाबुवासँग रमाइला कुरा गर्दै कोपिला दङ्ग परिन् किनभने यसरी बुवाआमासँग पहिलोपटक पहाड घर जाँदै थिइन् । 

असार महिना भएकाले इन्द्रावती नदी पनि जोडले बगिरहेको थियो । “ओहो आमा ! हामी दशैँमा आउँदा त इन्द्रावती नदी नीलो देखिएको थियो । अहिले त कस्तो धमिलो देखिएको ।” आमाले भन्नुभयो, “असार महिनामा धेरै पानी पर्छ र ठाउँठाउँमा पहिरो गएको हुन्छ, त्यसैले धमिलो देखिएको हो । 

“वर्षायाम भएकाले बाटो चिप्लो छ विस्तार हिँड्नुपर्छ ह” बुवाले भन्नुभयो । ठाउँठाउँमा भेटिने सानासाना खोल्सा तर्ने बेलामा भने बुवाले बोकेर तारिदिनुहुन्थ्यो । केहीबेरको हिँडाइपछि घर आइपुग्यो । कोपिला र बुवाआमा आउने भएकाले हजुरआमाले खाना बनाएर राख्नुभएको रहेछ ।  


घर पुग्दा घरमा हजुरआमा मात्र हुनुहँदो रहेछ । नातिनीलाई देखेर हजुरआमाले सोध्नुभयो “मेरी सानी नातिनीलाई गाह्रो त भएन है बा ?” कोपिलाले मुण्टो हल्लाइन् । कोपिलाका बुवाले बा रमेश (बुवाका भाइ) र यशोदा (बुवाकी बहिनी) खोइ त भनेर सोध्नुभयो । आमाले हजुरबुवा, काका र फुपू छिमेकीको पर्ममा गएको बताउनुभयो । “पर्म भनेको के हो बुवा ?” कोपिलाले सोधिन् । “पर्म भनेको ज्याला नलिइकन पालोपालो गरेर गरिने काम हो नानु” बुवाले भन्नुभयो । “सबैको रोपाइँ गर्नुपर्ने भएकाले कहिले हामी अर्काकोमा जान्छौँ कहिले उनीहरू हाम्रामा आउँछन् । के गर्नु अचेल  धेरैजसो विदेशिएकाले काम गर्ने मान्छे पाउनै गाह्रो छ । त्यसैले पर्म गरेर काम चलाउनु पर्छ ।” हजुरआमाले थप्नुभयो । 

“खाना खाएर हामी पनि हेर्न जाने है आमा !” कोपिलाले भनिन् । “आ जानु पर्दैन यस्ती राम्री नातिनीलाई हिलो छ्यापिदिए भने ।” हजुरआमाले भन्नुभयो । “रोपाइँ गरेरको कस्तो हुन्छ भनेर त हेर्न आएकी यिनी ।” आमाको कुरा सुनेर हजुरआमाले कोपिलालाई आमाबुवासँगै खेतमा जान दिनुभयो । बुवाआमासँगै कोपिलाले पनि कपडा फेरेर उनीहरू हजुरबा, काका र फुपूले रोपाइँ गर्न लागेका ठाउँमा पुगे । बुवा र आमाले हजुरबुवालाई ढोगिदिनुभयो । फुपू र काकाले पनि आफ्ना दाजुभाउजूलाई ढोग्नुभयो । कोपिलाले पनि सबैलाई ढोगिन् । अनि कपडा माथि सारेर बुबाआमा पनि खेतमा पस्नुभयो । बुवा कोदाली लिएर माटो यताउता मिलाउन थाल्नुभयो । आमाचाहिँ धानको बीउ हातमा लिएर अरूहरूसँगै रोप्न थाल्नुभयो । खन्ने, सम्याउने काम गर्ने केटा मान्छे (बाउसे)हरू एकापसमा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ सकियो । 

कोपिला पनि बुवाआमा, हजुरबुवा, काका र फुपूसँगै घर फर्किन् । थकाइ लागेको हुनाले सबै जना सुत्न गए । कोपिला पनि बुवाआमासँगै सुतिन् । भोलिपल्ट बिहानैदेखि पानी परेको थियो । 

सबै जना बिहानको चिया खाएर रोपाइँमा जान तयार हुनुभयो । कोपिलालाई अचम्म लाग्यो यस्तो पानीमा पनि भिज्दै जाने । हजुरआमाले “असार महिनामा मेहनत गरेर फलेको अन्नले वर्षभरि खानुपर्ने भएकोले पानी परेको भनेर बस्न पाइन्न । सानोतिनो पानी परेको बेला त छाता, प्लास्टिक वा घुम (बाँसको चोयामा रुखका पात मिलाएर पानी छेक्न बनाइएको वस्तु) ओडेर भए पनि रोपाइँ गर्नुपर्छ । आज त झन् आफ्नै घरको रोपाइँ ।”

कोपिला त्यसदिन पनि खाना खाएर रोपाइँ गरेको हेर्न गइन् । आमा र अरू केटी मान्छेहरूले रोपेको देखेर कोपिलालाई पनि रोप्न मन लाग्यो । आफूले लगाएका कपडा माथि सारेर कोपिला म पनि रोप्छु भन्दै आमासँग बीउ मागेर रोप्न थालिन् तर जानिनन् । आमाले त्यसरी होइन यसरी रोप्नुपर्छ भनेर सिकाउनुभयो । आमाले गरेको हेर्दै उनले पनि रोपाइँ गरिन् । त्यसदिन आफूले रोपाइँ गरेकोमा कोपिला दङ्ग परिन् । अर्को दिन असार पन्ध्र थियो । त्यसदिन गाउँका मुखियाको घरमा रोपाइँ रहेछ । पञ्चै बाजा बजाउँदै रोपाइँ  गरे । दिउँसो खेतमै दही चिउरा खाएर रमाइलो गरे । 

घर पुगेर खाना खाई सुत्ने बेलामा बुवाले भन्नुभयो, “देख्यौ त कस्तो हुँदो रहेछ 

रोपाइँ !  भोलि बिहान सबेरै गाडी चढेर काठमाडौँ फर्किनुपर्छ पर्सिदेखि त तिम्रो पनि स्कुल जानुपर्छ, मेरो पनि अफिस ।” ‘हुन्छ’ भन्दै थाकेकी कोपिला एकैछिनमा निदाइन् । á