काठमाडौँ, भदौ ८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तिजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस एकाइ समितिले आज हरितालिका पर्वका अवसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा उहाँले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभएको हो ।
उहाँले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेम अनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ, त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरूको जिम्मेवारी हो, तिज सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुङ्गेलले तिजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिनेमात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्”, उहाँले भन्नुभयो ।
पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गर्नुभयो । नेविसङ्घ एकाइ समितिका अध्यक्ष सरोज लिम्बूले तिज सबै जातजाति र भाषा–भाषीबिच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउनुभयो । रासस