खोटाङ, भदौ ८ गते । साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् ।
अध्यक्ष राईले स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको बताउनुभयो । साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायत पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिकस्थलको सरसफाइ गर्नुका साथै उक्त स्थानमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता छ । रासस