पछिल्लो समय नेपाली पत्रकारितामा सतहीकरण बढ्नुका साथै प्रमाणीकरणको सङ्कट गहिरिँदै छ । समाचार सार्वजनिक गर्नुअघि त्यसको तथ्यगत पक्ष, स्रोतको विश्वसनीयता, कानुनी तथा सांस्कृतिक संवेदनशीलता, समय, सान्दर्भिकता आदि पक्षलाई परीक्षण गर्ने प्रवृत्ति घट्दो छ । अहिलेको डिजिटल युगमा स्रोत र तथ्यगत प्रमाणिकता जाँच नगरी छिटो भाइरल बन्न खोजिन्छ । तार्किक प्रश्नसहित अन्वेषण गर्ने, लुकाइएका तथ्य खोतल्ने, बहुपक्षीय स्रोतको सहायताले समाचारलाई पुष्ट पार्ने अभ्यासमा हामीकहाँ ह्रास आएको छ । सत्यको खोजी गर्ने पत्रकारिताको मूल धर्ममा आँच आउनुले पत्रकारितामा प्रमाणीकरणको सिद्धान्त कमजोर भएको सङ्केत गर्छ । यद्यपि, यसको पछाडि आर्थिक, राजनीतिक, नैतिक, सामाजिक–मनोवैज्ञानिक आदि कारण हुन्छन् भनी अनुमान लाउन सकिन्छ ।
प्रामाणिक पत्रकारिताको मूल कृति मानिने विश्व प्रख्यात पुस्तक ‘दी एलेमेन्टस् अफ् जर्नलिजम्’ का लेखकद्वय ‘बिल कोभाच’ र ‘टम रोजन्स्टिल’ परिच्छेद ४ मा पत्रकारिताको प्रमाणीकरण सम्बन्धमा लेख्छन्, “आखिरमा, पत्रकारितालाई मनोरञ्जन, प्रचार, काल्पनिक कथा, वा कलाबाट अलग गर्ने भनेकै प्रमाणीकरणको अनुशासनले हो ।’ सोही परिच्छेदमा प्राचीन ग्रिसका विश्वविख्यात इतिहासकार थ्युसिडअडिजले आफ्नो पुस्तक ‘हिस्ट्री अफ पेलोपेनिसियन वार’ को परिचयमा युद्धसम्बन्धी रिपोर्टिङ गर्ने सवालमा प्रमाणीकरणको औचित्य दर्शाउँदै लेखेको अनुच्छेद पनि लेखकले यस प्रकार उद्धृत गरेका छन्–
‘पत्रकारितामा प्रमाणीकरणको सवाल घटनाको तथ्यगत रिपोर्टिङ गर्दा मैले एउटा सिद्धान्त बनाएको छुः मलाई प्रप्प्त हुने पहिलो कथा नलेख्ने तथा आफूलाई पर्ने सामान्य छापाबाट पनि मार्गदर्शित नहुने । घटनामा स्वयम् उपस्थित थिएँ भने मात्र मैले घटनाको वर्णन लेखेँ, अथवा प्रत्यक्षदर्शीबाट सुनेको विवरणलाई समेत यथाशक्य पूरापूर जाँचपड्ताल गरेर लेखेँ । तैपनि, सत्य पर्गेल्न सहज थिएन – भिन्दाभिन्दै प्रत्यक्षदर्शीले उही घटनाबारे पनि फरक फरक विवरण दिन्थे, आआफ्नै पक्षधरताको कारण वा अपूर्ण स्मरणले गर्दा ।’
पत्रकारितामा द्वारपालको भूमिका कम महत्वको हुन्न । यो भूमिका स्रोतदेखि सूचना प्रापकसम्म के, कस्तो, कति, किन र कसरी सम्प्रेषण गर्ने भन्ने निधो गर्ने विषयसँग सम्बन्धित छ । आजका हाम्रा डिजिटल समाचार कक्षमा द्वारपालको भूमिका खिइँदै छ । सतही, तम्तयार र एकै प्रकारका समाचार सामान्य भएका छन्; विविधता कमजोर बन्दै छ । प्रायसः वान म्यान पत्रकारिताको प्रवृत्ति बढिरहँदा द्वारपालको भूमिका भने खुम्चिँदै गएको देखिन्छ । यस्तो अवस्थामा कष्टसाध्य देखिने प्रमाणीकरणको अभ्यास पनि प्रभावित हुन्छ नै । झन्, समाचारको स्रोतसम्म पुगिन्छ कि पुगिन्न वा दिने गरिएको समाचारको स्रोत पुष्टि गर्न कष्ट गरिन्छ कि गरिन्न भन्ने प्रश्न यस्तो अवस्थामा उठिनै हाल्छ ।
आजकाल समाचारकेन्द्रित युट्युब च्यानलको उपस्थिति बाक्लिँदै छ तर पत्रकारिताको स्तर भने पातलिँदै छ । फेसबुक, टिकटक, एक्स जस्ता सामाजिक प्लेटफर्मबाट सिधै फोटो, भिडियो वा पाठ्यांश उठाएर ल्याई समाचार बनाउने प्रवृत्ति युट्युब च्यानलमा बढ्दो छ । यस क्रममा फेरि पनि पत्रकारिताको आधारभूत सिद्धान्त सत्यताको परिक्षण मिचाइमा पर्छ । युट्युब च्यानलहरूले समाचार बनाउन प्रयोग गरेको अधिकांश भिडियोको फुटेजको मूल स्रोत, आधिकारिकता, स्थान र समय नखुलाइनुलाई पत्रकारिताकै प्रमाणीकरणको सङ्कटको रूपमा बुझ्नु पर्छ । वक्तासँग सोधिने प्रश्नसमेत मिथ्या सूचनामा आधारित भेटिनु सामान्य जस्तै भइसकेको छ । त्यस्तै, तथ्य खोज्ने प्रश्नभन्दा पनि पौँठेजोरीलाई प्रोत्साहित गर्ने प्रश्न सोध्ने प्रचलन बढेको देखिन्छ, जसबाट तथ्य खोज्ने ध्येयबाट विचलित बनिन्छ । बहुपक्षीय स्रोत नखुलाई सबै आफैँले देखे झैँ गरी बम्किनु पत्रकारिताको धर्मभित्र पर्ने कुरै भएन ।
प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकारिता आचारसंहिता २०७३ ले पनि पत्रकारिता क्षेत्रमा विश्वव्यापी रूपमा प्रचलित विश्वासनीय स्रोतसहितको प्रमाणीकरणको अभ्यासलाई उचित रूपमै समावेश गरेको छ । जुनसुकै माध्यम र त्यहाँ क्रियाशील पत्रकारले पनि त्यसलाई आत्मसात् गर्नु आवश्यक छ ।
सत्यको पुष्टि नगरी भटाभट समाचार दिनु नैतिक समस्या हो, केवल लापरबाही होइन । नेपालमा मिडिया आउटलेट दर्ता गर्ने क्रममै ठुलो संस्थागत कमजोरी रहेको छ । पत्रकारिता नै गर्न भनेर मिडिया कम्पनी दर्ता गर्न आउँदादेखि नै राज्यले गुणस्तरको मापदण्ड लागु गराउन सके धेरै हदसम्म अहिले पत्रकारिता क्षेत्रमा छाइरहेको विकृत अभ्यास न्यून हुन्छ । पत्रकारिता सिर्फ एक खोल नबनोस् भन्नेतर्फ चनाखो बन्नु पर्छ; उचित मापदण्ड चाहिन्छ । मूल स्थानमा ख्याल नपु¥याउँदा समस्या व्यापक रूपमा झाँगिए पछि प्रतिक्रिया स्वरूप मिडिया र पत्रकारलाई दण्ड दिने खालको ऐन ल्याएर मात्र कु–संस्कृति मेटिँदैन, बरु त्यसबाट त्यतिखेर समग्र चौथो अङ्ग नकारात्मक ढङ्गले प्रभावित हुन पुग्छ र राष्ट्रिय विवाद सिर्जना हुन्छ । त्यसैले, जरादेखिको प्रयास गर्नु बुद्धिमानी हो ।
आजकाल पितपत्रकरिता पनि विश्वमा बढेको पाइन्छ । नेपालमा पनि पत्रकारितामा ऐंजरुको रूपमा पितपत्रकरिता चलायमान छ । विश्वश्नीय स्रोत पुष्टि नगरी सनसनीयुक्त वा घगडान भाषामा सामग्री दिनु, सार्वजनिक विषयलाई ओझेलमा पार्दै व्यक्तिगत मामलामा प्रवेश गरेर रङ्गरोगन वा विकृतीकरण गर्नु, शीर्षक सनसनीपूर्ण राख्नु तर समाचारभित्र सोबमोजिम कन्टेन्ट नहुनु तथा तथ्यको सट्टा व्यक्तिलाई जबर्जस्ती देवत्वकरण वा दानवीकरण गर्ने सामग्री प्रस्तुत गर्नु पितपत्रकरिता अन्तर्गत पर्छ । त्यस्तै वस्तुगत सूचनाको सट्टा भाववाचक कथन दिनु, संवेगोत्तेजक शब्द वा वाक्यको प्रयोगमा जोड दिनु, तथ्यलाई बटार्नु, बङ्ग्याउनु वा ठुलो बनाएर भ्रामक रूपमा प्रस्तुत गर्नु, दलीय प्रवर्धन हुने गरी प्रस्तुत हुनु, भड्काउने खालको भिडियो, फोटो वा पाठ्यांशको प्रयोग गर्नु आदि लक्षणका आधारमा पितत्रकरितालाई चिन्न सकिन्छ ।
नागरिकको अन्तस्करण नजागीकन कानुनका ठेलीले मात्र यो नियन्त्रण हुँदैन, बरु वास्तविक पत्रकारिता नै अपाहेज बन्ने खतरा हुन्छ । मनग्य नैतिक शिक्षा र समाजको विश्लेषण गर्ने नागरिक चेतनाको निर्माण गरेर मात्र पितपत्रकरितालाई मौलाउने वातावरण निस्तेज पार्न तथा सूचना प्रमाणीकरणको अभ्यासलाई बल पुर्याउन सम्भव हुन्छ । तत्कालको उपाय भनेको सम्बन्धित मिडिया कम्पनीले उचित सम्पादकीय नीति बनाएरै सूचना प्रमाणीकरणलाई प्राथमिकतामा राख्नु र मनिटरिङ गर्नु हो ।
गहकिलो र गुदीयुक्त समाचार दिनेभन्दा पनि ‘को पहिला’ भन्ने होडले महत्व पाएको छ । माध्यम र प्रविधि फरक परे पनि पत्रकारिताको ध्येय र मर्म फाल्ने कुरा होइन । डिजिटल मिडियाको सर्वव्यापकता रहँदा पनि पत्रकारिताका मौलिक सिद्धान्त र विशेषता बिर्सने कुरा आउँदैन । नत्र, पत्रकारिताको मूल धर्मबाट विचलन र स्खलन होइन्छ । पत्रकारितामा प्रमाणीकरणको संस्कृति नाश हुँदै जाँदा सामाजिक मनोविज्ञान बिग्रने र लोकतान्त्रिक निर्णय प्रक्रियामै गम्भीर क्षति पुग्ने हुँदा सबै सरोकारवाला पक्षले यस सम्बन्धमा सजग कदम चाल्नु जरुरी छ ।