• ८ भदौ २०८२, आइतबार

डेङ्गु रोकथाम योजना

blog

वर्षा मौसम भनेको पानीको मौसम मात्रै होइन, रोगव्याधिको मौसम पनि हो । वर्षा लाग्यो कि कीटजन्य रोग विशेषत डेङ्गुकै डर हुन्छ । पूर्वदेखि पश्चिमसम्म लामखुट्टेको बिगबिगी छ । डेङ्गु रोग फैलिई अस्पतालमा बिरामीको चाप बढेको छ । आफूलाई नपरी नचेत्ने नागरिकको बानीले ठुलो समस्या निम्त्याइरहेको छ । जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगी गराउने लामखुट्टे सर्दै छ । न्यूनतम तापक्रम एक डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत लामखुट्टेजन्य रोग बढ्छ । तापक्रम बढ्दा वृद्धि विकास चाँडो, थप सङ्क्रामक, जीवनचक्र छिटो हुने र लामो समय बाँच्ने मौका मिलेको छ । बाहै्र महिना र उच्च हिमालीमा पनि देखिन थालेको छ । चिसो मौसममा शून्यमा झर्ने डेङ्गु गत वर्षदेखि जाडोमा पनि देखा परेपछि स्वास्थ्य प्रणालीमा चुनौती थपिँदै गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले डेङ्गुबाट १२८ देशका करिब तीन अर्ब ९७ करोड जनसङ्ख्या जोखिममा रहेको, हरेक वर्ष पाँचदेखि १० करोड बढीमा सङ्क्रमण हुने र पाँच लाख बढीमा कडा प्रकृतिको डिएचएफ भई २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । नेपालमा पहिला पटक डेङ्गु सङ्क्रमण २००४ मा देखिए पनि सङ्क्रमण फैलिएको र निरन्तर देखिइरहेको सन् २००६ पछि हो । १ जनवरी २०२५ देखि ८ अगस्तसम्ममा दुई हजार ७३८ पुष्टि भएका छन् । प्रदेशमा गण्डकी, बाग्मती र कोशी तथा जिल्लामा कास्की, काठमाडौँ, तनहुँ क्रमशः सबैभन्दा बढी सङ्क्रमण भएका प्रदेश तथा जिल्ला छन् । यस आवमा मनाङ, हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा सङ्क्रमण देखिइसकेको छ । 

लामखुट्टेका स्मार्ट आनीबानी

मानिसमा डेङ्गुको सङ्क्रमण डेङ्गु विषाणुबाट सङ्क्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्छ । अल्वोपिक्टसले एक टोकाइमा पेट भर्ने भएकाले यसको टोकाइबाट त्यति रोग सर्दैन । दिउँसो सक्रिय र राति नआउने । आकार सानो, झट्ट नदेखिने र दिउँसोमा आउने भएकाले आवाज सुनिँदैन । प्याट्ट मार्दा रगत आउँदैन । कालो, फुस्रो धुलो जस्तो देखिन्छ । टोकेपछि शरीरमा चिलाए जस्तो हुने, मसिना बिबिरा आउने, केही समय नराम्ररी चिलाउने तथा कहिलेकाहीँ बिबिरा बढेर ठुला फोका पर्छन् । सफा पानीमा बढ्ने, फुल पार्ने गर्छ । हुर्कन पाँच मिली जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । लामखुट्टे तीन हप्ता बाँच्ने र ट्रान्सभाइरलबाट सङ्क्रमित लामखुट्टेले फुलमा पनि भाइरस सार्छ । प्रायः बिहान ७ देखि १० र साँझ ३ देखि ५ बजे बढी सक्रिय हुन्छन् । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भिआइपी लामखुट्टे पनि भनिन्छ ।

डेङ्गु विषाणु के हो ?

डेङ्गु विषाणुको टाइप एक, टाइप दुई, टाइप तीन र चार भाइरसको तीव्र सङ्क्रमणले डेङ्गु रोग लाग्छ । मांसपेशी र हड्डीमा निकै पीडा हुन्छ । चार प्रकारको डेङगु विषाणुको सङ्क्रमणपश्चात् लक्षण नदेखिने ज्वरो, डेङ्गु ज्वरो, डेङ्गु हेमोरेजिक ज्वरो र डेङ्गु शक सिन्ड्रोम प्रकारको हुन सक्छ । 

लक्षण 

हरेक १० मा दुईमा लक्षण देखिने, १० जना लक्षण देखिएकामा दुई जनालाई जटिलता हुन सक्ने र मृत्युदर एकदेखि दुई प्रतिशत देखिन्छ । गर्भवती, साना बच्चा र दोहोरिएर भएको सङ्क्रमणमा जटिल समस्या आउन सक्छ । शरीरमा भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छ । एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी, हाड, ढाड र जोर्नी दुख्न थाल्छ । डेङ्गु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ । ज्वरो, बिबिरा र टाउको वा शरीर दुख्ने डेङ्गुको त्रिभुज हुन । मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिबिरा, फोका र डावर देखिन्छ र क्रमशः हराउँछ । 

डेङ्गुका करिब पाँच प्रतिशतमा रगतमा प्लाज्माको मात्रा कम हुने, पानीको मात्रा कम हुने र हाइपोभोलेमिक सक हुने सम्भावना रहन्छ । पहिलोभन्दा दोस्रो र तेस्रो पटक बढी जटिल बन्छ । डेङ्गु पहिलो पटक र दोहोरिँदाको सङ्क्रमण गर्ने भाइरस फरक प्रकारको हुने भएकाले बढी जटिल हुने गर्छ । पहिले बनेको एन्टिबडीले काम नगर्ने र एन्टिबडीलाई भ¥याङ बनाएर सजिलैसँग इम्युन सिस्टमको कोष प्रयोग गरी फैलिन्छ, खोप विकास तथा प्रभावकारी हुन सकेको छैन ।

ज्वरोपछिको ४८ घण्टा क्रिटिकल 

अधिकांश सङ्क्रमित लक्षण लिएर घर घरमा बसिरहेका तथा आफ्नो दैनिकी कार्यक्षेत्रमा निरन्तर खटिरहेका छन्, जसलाई वाकिङ डेङ्गु भन्न सकिन्छ । पहिलो आठदेखि १० दिनको फेब्राइल अवस्थापछि धेरैमा ज्वरो घट्छ र बिस्तारै सुधारोउन्मुख हुँदै जान्छ । कतिपयमा ज्वरो घटेसँगै २४ देखि ४८ घण्टामा जटिल डेङ्गु देखिने सम्भावना रहन्छ । अर्थात् ज्वरो आएको ९ देखि १२ औँ दिनमा क्रिटिकल वा जटिल डेङ्गु देखिन सुरु हुन्छ । जसको जोखिम २४ देखि ४८ घण्टा रहन्छ ।

जटिल डेङ्गुका पूर्वसङ्केतमा तारन्तार बान्ता, असाध्यै पेट दुख्ने, अति आलस्य, बेचैनी, कमजोर, रक्तश्राप जस्तै गिजा, योनी, नाक आदिबाट रगत बगे, श्वासप्रस्वासमा तीव्रता वा कठिनाइ भए तुरुन्त अस्पताल जानु पर्छ । अस्पतालमा परीक्षण गर्दा कलेजोको आकार बढेको, छाती वा पेटमा पानी भरिएको, रगतमा प्लेटलेटको सङ्ख्यामा तीव्र गतिले घट्ने र हेमाटोकृट बढेको पाइए गम्भीर अवस्था हो । कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथी भई बहु अङ्ग बेकम्मा भई मृत्यु हुन्छ ।

व्यवस्थापन 

डेङ्गु विषाणुको सङ्क्रमणबाट हुने रोग भएकाले रामवाण वा जादुको छडी झैँ तुरुन्तै ठिक पार्ने औषधी हुँदैन । यसको उपचार लक्षणका आधारमा गरिन्छ । कोभिड–१९ को मोडेल जस्तै डेङ्गुमा सङ्क्रमित धेरै भएकाले र केही मात्र गम्भीर हुने भएकाले घरमै बसेर उपचार लिने तर जटिलताका लक्षण देखिए तुरुन्तै अस्पताल जाने व्यवस्था छ । ‘एस्प्रिन’ र ‘बु्रफिन’ जस्ता औषधी सेवन गर्नु हँुदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर वास्तविक र छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ । क्लासिक डेङ्गु सामान्य प्रकारको हो र आफैँ निको हुन्छ । डेङ्गु हेमोरेजिक ज्वरो वा डेङ्गु ‘शक सिन्ड्रोम’ भएमा उचित उपचार नगरे मृत्यु हुन्छ । 

 

रोकथामका कार्ययोजना

नेपालमा सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागु गरेको छ, ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृद्धिविकास कसरी रोक्ने, उपचार के के गर्ने, स्थानीय तह र रेडक्रसको भूमिका, बढी जोखिम भएका ९२ स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्क‘लर छ । आव २०८१/८२ मा सात करोड ९६ लाख बजेटमा सङ्क्रमितको सङ्ख्याको आधारमा ५० हजारदेखि सातलाखसम्म पालिकालाई विनियोजन गरिएको छ । कीट ७५ हजार वितरण छ । उपरोक्तलगायतका अनेक उपाय र कार्यक्रम भए पनि लागत प्रभावकारी निरन्तर छन् ।

डेङ्गुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहाँ छैन । खोपले डेङ्गुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको डेङ्गु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने डब्लुएचओ र सिडिसी अमेरिकाले मान्यता दिएको बायोडेट एम कीटनाशक औषधी छ । अनावश्यक औषधी, मेवाको पात खाइदिँदा पनि जटिलता देखिने गरेको छ । 

अन्त्यमा डेङ्गु सार्ने प्रमुख कारण सङ्क्रमित लामखुट्टेको टोकाइ भएकाले त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नु नै रोकथाम हो । डेङ्गु नियन्त्रण गर्न हरेक शुक्रबार बिहान साढे ९ बजे सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । सरकारको एक्लो प्रयासले मात्र डेङ्गु नियन्त्रण गर्न नसकिने भएकाले आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैको सहभागिता, सहजीकरण एवं समन्वयको जरुरत छ ।