गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ८ गते । गत आर्थिक वर्ष २०८१/८२ को साउनको तुलनामा चालु आव २०८२/८३ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सोही ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।
विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जनाएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको श्रमका जानकारहरू बताउँछन् ।
विभागका अनुसार पछिल्लो चार वर्षमा २९ लाख ९८ हजार २६६ युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । चार वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख ४५ हजार ६६ युवाशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । गत आवमा रोजगारी खोज्दै आठ लाख ३९ हजारभन्दा बढी युवा विदेश गएका थिए । अघिल्लो वर्ष सात लाख ४१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
सरकारले श्रमस्वीकृतिको तथ्याङ्क राख्न थालेको ३१ वर्षमध्ये गत आवमा सबैभन्दा धेरै बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।