• ८ भदौ २०८२, आइतबार

एक महान् विचारक र कूटनीतिज्ञ

blog

सङ्गठनको अवधारणाबाट समाजको जन्म भयो । समाजको सुरक्षा र सञ्चालनका निमित्त शक्ति सन्तुलन गराउन एक प्रमुख व्यक्तिलाई अधिकार सम्पन्न गराउनुपर्ने भयो । यो शक्ति परिवारमा बावुले पायो र बावु मरेपछि छोरानातिमा सर्दै गयो ।

जयपृथ्वीबहादुर सिंह विश्व शान्ति र मानवतावादका प्रवर्तक मानिन्छन् । उनको परिचय यतिमै सीमित चाहिँ छैन । एक सुधारवादी र बौद्धिक व्यक्तित्व जयपृथ्वीबहादुरले एकतन्त्रीय, जनविरोधी तथा बेलायत परस्त राणा शासनमा समाज सुधार, शिक्षा र समानताका क्षेत्रमा सक्दो योगदान गर्ने कोसिस गरे तर  तत्कालीन शासन व्यवस्थामा आफूले चाहेको परिवर्तन सम्भव नदेखेर उनी स्वनिर्वासनमा भारत गएका थिए ।

जयपृथ्वीबहादुरले भारत निर्वासनमा रहेर नेपालको जहाँनिया शासन व्यवस्था समाप्त गर्न सहयोग पुर्‍याउनुका साथै विश्व भ्रमण गरी मानव अधिकार र विश्व शान्तिको आफ्नो धारणा सर्वत्र साझा गरेर व्यवहारमा तिनलाई प्रयोगमा ल्याउन महत्वपूर्ण योगदान गरेको सन्दर्भ इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

राणाको आँखामा कसिङ्गर

राणा शासन र भारतमा रहेको बेलायती शासनबीच सुमधुर सम्बन्ध भएको अवस्थामा जयपृथ्वीबहादुरले नेपालमा चलाएका समाज सुधारका विभिन्न गतिविधिले आफ्नो शासन व्यवस्थामा खतरा उत्पन्न गराउने महसुस राणाहरूलाई भएको थियो । यसर्थ  जयपृथ्वीबहादुरसँग सम्बन्ध सुधार गर्ने हेतुले राणा शासक चन्द्रशमशेरले आफ्नो बेलायत यात्रामा उनलाई सँगै लगे । त्यस भ्रमणका क्रममा बेलायती राजा एडवर्ड सातौँले जयपृथ्वीबहादुरलाई बेलायती सेनाको मानार्थ कर्नेल पदबाट विभूषित गरेका थिए । त्यसपछि राणाहरूले उनलाई नेपालको तर्फबाट कोलकातास्थित राजदूतस्तरको रहने गरी कन्सुलर बनाएर पठाए ।

देशभित्र जमिनमा किसानलाई मोहियानी हक अवधारणा, सतीप्रथा अन्त्य, आयुर्वेदशाला स्थापना तथा काठमाडौँको नक्साल र बझाङको मेल्लेखमा श्री सत्यवादी प्राथमिक पाठशाला स्थापना जस्ता समाज सुधारका कार्यमा जयपृथ्वीबहादुरले तत्कालीन समयमा अतुलनीय कार्य गरे । उनका यस्ता सामाजिक र सुधार कार्यलाई राणाहरूले आफ्नो शासन व्यवस्थाको जग हल्लाउने तत्वका रूपमा बुझे ।

विश्व शान्तिमा योगदान

सन् १९२८ मा Unity Propaganda Bureau गठन गरेर जयपृथ्वीबहादुरले सन् १९२९ सेप्टेम्बरदेखि सन् १९३८ सम्म The Flag of Peace  अर्थात् शान्तिको झन्डा नारा बोकेर विश्व भ्रमण गरेका थिए ।

सन १९२८ मा भारतको बेङ्गलोरमा जेपी इन्स्टिच्युट नामक संस्था स्थापना गरी ‘वल्र्ड फेलोसिप अफ फेथ अर्गनाइजेसन’ संस्थासँग आबद्ध भएर जयपृथ्वीबहादुरले एसियामा भारत, चीन, जापान, म्यानमार

(बर्मा), श्रीलङ्का (सिलोन), सिङ्गापुर, हङकङ तथा युरोपमा स्विट्जरल्यान्ड, पोल्यान्ड, अस्ट्रिया, तत्कालीन युगोस्लाभिया, रोमानिया, जर्मनी, फ्रान्स, तत्कालीन सोभियत सङ्घ, आइसल्यान्ड, बेलायत, इटालीको भ्रमण गरेका थिए । उनी विश्व शान्तिको नारा लिएर अमेरिकासमेत पुगे । मानवताको सिद्धान्त र व्यवहारका अभियन्ता बनेर अफ्रिकाको इथियोपिया (अविसिनिया) मा भएको इटाली–इथियोपिया युद्धमा  युद्धपीडितको घाउमा मलम लगाउन जापानी चिकित्सक र नर्ससमेतलाई लिएर स्वयम्सेवकका रूपमा उनी त्यहाँ गएका थिए ।

त्यतिबेला जयपृथ्वीबहादुरले सोच्दै नसोचेको झन्झट बेहोर्नु पर्‍यो । युद्धग्रस्त क्षेत्रमा जापानी राहदानी लिएर पुग्दा इटाली सरकारद्वारा उनलाई बन्दी बनाइयो । बेलायतसँग राम्रो सम्बन्ध भएका कारण बेलायत सरकारको पहलमा उनलाई रिहा गरिएको भनी धन लामाले आफ्नो शोधग्रन्थमा लेखेको पढ्न सकिन्छ ।

वार्सा, जेनेभा, प्राग, बुढापेस्ट, बेलग्रेड, बुखारेस्ट, बर्लिन, पेरिस, मास्को, लन्डन, कोलकाता, बेङ्गलोर, साङ्घाई, न्युयोर्क र सिकागोमा विश्वशान्ति, एकता र मानवतावादको प्रवर्धन गर्ने उद्देश्यबाट उनले दिएका प्रवचनको सँगालो ‘स्पिचेस एन्ड राइटिङ्स  अफ जयपृथ्वीबहादुर’ मा सङ्गृहीत गरिएको छ ।

सञ्चार माध्यममा जयपृथ्वीबहादुर

विश्वभरि मानवतावाद र विश्ववन्धुत्वको भावना जागृत गराउन जयपृथ्वीबहादुरले अनवरत् गरेको प्रयासलाई जापान टाइम्स, न्युयोर्क टाइम्स, न्युयोर्क इभिनिङ जर्नल, चाइना प्रेस र मेघालयको गोरखा सेवक पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएको कुरा धनबहादुर लामाले ‘ह्युमानिस्ट इन लाइफ एन्ड डेथ’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

भारतीय र नेपाली सञ्चार माध्यमले जयपृथ्वीबहादुरका विचारलाई स्थान दिने र गतिविधिका समाचार प्रकाशित गरेको देखिँदैन किनभने त्यतिबेला नेपालमा राणा शासन थियो भने भारतमा बेलायती शासन । दुवै शासनलाई जयपृथ्वीबहादुरका विचार ग्राह्य थिएनन् । उनको सुधारवादी गतिविधिलाई शासनसत्ता विरोधी कदमका रूपमा लिइन्थ्यो ।

यद्धपि बम्बई (हाल मुम्बई) बाट प्रकाशित हुने दी विक्ली अखबारले  ‘ह्युमानिज्म : न्यु होप फर वल्र्ड पिस’ शीर्षक दिएर समाचारमा उनको विचारलाई स्थान दिएको पाइन्छ । लोकप्रिय प्रकाशन हिन्दु  दैनिकको मद्रास संस्करणले जयपृथ्वीबहादुरको मृत्युको सम्बन्धमा प्रकाशन गरेको सम्पादकीयमा उनलाई ‘दोस्रो गौतम बुद्ध’ को संज्ञा दिएको थियो ।

जयपृथ्वीबहादुरका कृति

नेपालको शासन व्यवस्थालगायत आर्थिक, सामाजिक विकास र रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य तथा उद्योगधन्दा क्षेत्रमा उनको अद्वितीय योगदान रहेको कुरा उनले लेखेका कृति र कार्यबाट प्रस्ट हुन्छ ।

अक्षरमाला, बालबोध, ज्ञानमाला, भूगोल विद्या, पदार्थ तत्व विवेक, शिक्षा दर्पण, प्राकृत व्याकरण, तìव प्रशंसा, उद्योगधन्दा, प्राकृत भाषा कोष, पैल्हा किताब र अक्षराङ्क तथा अङ्ग्रेजी भाषामा ह्युम्यानिज्म पुस्तकका तीन संस्करण प्रकाशन गरेका थिए ।

एक महान् विचारक

बझाङी राजा जयपृथ्वीबहादुरले आफ्नो ६३ वर्षे जीवनकालको सुरुका ३८ वर्ष स्वदेशमा तथा त्यसपछिको २५ वर्ष विदेश, निर्वासन, जेल र नजरबन्दमा बिताए । जयपृथ्वीबहादुर एक महान् विचारक थिए । महात्मा गान्धी र रवीन्द्रनाथ टैगोरका समकालीन मानवतावादी र विश्वशान्तिका अभियन्ता जयपृथ्वीबहादुरका  बारेमा  ‘ह्युमानिस्टिक क्लब’ का मानार्थ सदस्य रहेका रवीन्द्रनाथ टैगोरले  आपनो ‘गोल्डेन बुक’ मा उल्लेख गरेका छन् ।

आज संसारभर लोककल्याणकारी राज्यको अवधारणाका बारेमा  चौतर्फी बहस चल्दै गर्दा १२० वर्षअघि नै लोककल्याणकारी राज्य व्यवस्थाको परिकल्पनाकार हुन् जयपृथ्वीबहादुर ।

सन् १९२९ अप्रिल २२ मा जेनेभामा दिएको प्रवचनमा प्रथम  विश्वयुद्धपछि विश्व शान्तिमा योगदान गर्न खोलिएको संस्था लिग अफ नेसन्सको कार्यदिशा गलत भएको आलोचनात्मक धारणा जयपृथ्वीबहादुले अभिव्यक्त गरे । अन्ततः लिग अफ नेसन्सको असफलताले दोस्रो युद्धपछि संयुक्त राष्ट्रसङ्घ स्थापना हुन पुग्यो । संयुक्त राष्ट्रसङ्घ नाम पहिलो पटक उनले नै जेनेभामा व्यक्त गरेका थिए ।

यसरी लिग अफ नेसन्सले विश्व शान्ति सम्भव छैन भन्दै पहिलो पटक संयुक्त राष्ट्रसङ्घ स्थापना गर्नका लागि जेनेभामा जयपृथ्वीबहादुरले प्रस्तावित संस्थाको नामै किटेर विश्व समुदायलाई आह्वान गरेको सत्य हामीले बिर्सन हुँदैन ।

जयपृथ्वीबहादुर नेपाली आमाका यस्ता सुपुत्र हुन् जसको बौद्धिक क्षमता, विचार, मानवता, शान्तिचेतबाट विश्व नै कायल थियो । सन् १९३३ अगस्तको कुरा हो अमेरिका भ्रमणमा रहेका जयपृथ्वीबहादुर न्युयोर्कमा विश्व आस्था मैत्री सङ्घलाई सम्बोधन गर्न पुगे । उनले त्यहाँ गरेको सम्बोधन हलमै रहेर श्रवण गर्ने अमेरिकाका तत्कालीन राष्ट्रपति होबर्ट हुबर पनि थिए । उनले त्यस अवसरमा अमेरिकी जनतालाई रेडियो सन्देश दिँदै मानवतावादको व्याख्यासमेत गरे ।


प्रथम विश्वयुद्ध समाप्त भएर विश्वमा शान्ति, जनकल्याण र बन्धुत्वको प्रयास भइरहेको थियो । युद्धले अस्तव्यस्त संसार, अशान्ति, अभाव र मानव त्रासदिको अवस्थामा जयपृथ्वीबहादुर विश्व भ्रमणमा निस्किए । त्यसरी ठाउँ ठाउँको भ्रमणमा रहँदा उनले विश्वका ९६ संस्थालाई मानवतावादको सञ्जालमा आबद्ध गराए । मानवतावादले नै सबैको कल्याण र शान्ति सम्भव भएको सन्देश दिए ।

विश्व बन्धुत्व र मानव कल्याणको सन्देश फैलाउँदै पोल्यान्ड पुगेका जयपृथ्वीबहादुरले सन् १९२९ मा वार्साबाट तत्कालीन सोभियत सङ्घको राजधानी मास्को जाने विचार गरे तर उनलाई भिसा दिइएन तर उनले हरेस खाएनन् र सोभियत राजदूतमार्फत सोभियत सङ्घका नागरिकलाई सन्देश पठाए । त्यसपछि उनलाई सोभियत सङ्घ जान अनुमति दिइयो र उनले त्यहाँ गएर तत्कालीन मन्त्री म्याक्सिम लिथविनोफसँग र सेनाका कमान्डर अलेक्जेन्डर लाङ्वेसँग भेटवार्ता गरेका थिए ।

यिनले संसारका सबै मानिस एउटै परिवारका सदस्य रहेको र सबै देशले सहअस्तित्वको माध्यमद्वारा विश्व ब्रह्माण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्व शान्ति सम्भव भएको मान्यता विश्वसामु राखेका थिए ।

युद्धरत मुलुकका पीडित पक्षलाई उद्दार र आक्रामक पक्षलाई मानवता सम्झाउन विश्वशान्ति सञ्जाल खडा गरी विश्वव्यापी रूपमा शान्ति र मानव अधिकारवादी सङ्गठनहरू उनले खोले । मानव मात्रको सुख, खुसी, शान्ति र समृद्धिद्घ प्राप्तिका लागि मौलिक धारणा भनेको समुदायगत सङ्गठन स्थापना प्रभावकारी माध्यम हुने मान्यता राख्ने महान् विचारक हुन् जयपृथ्वीबहादुर । मानिसबीच एकअर्काको जीवन बुझ्न आपसी छलफल चाहिन्छ र छलफलका लागि सङ्गठन चाहिन्छ, उनले भनेका थिए ।

यिनै कुरालाई उनले विश्व भ्रमणमा सहभागी भएका कार्यक्रम र प्रवचनमा प्रस्तुत र प्रचार गरे । साथै उनले धेरै देशमा मानवतावादी क्लब स्थापना गरेका थिए । त्यसैले लायन्स क्लब, रोटरी क्लबलगायतका विश्वका संस्था उनकै मूल्य मान्यतामा आधारित रहेर जन्मिए ।

मानव सेवा र शिक्षा क्षेत्रमा योगदान पु¥याउन बर्माको मेमियो शहरमा ‘जेपी इन्स्टिच्युट’ सञ्चालन गरिएको थियो ।

नेपालको दौत्य सम्बन्ध विश्वका अधिकांश मुलुकसँग स्थापित भइनसकेको अवस्थामा जयपृथ्वीबहादुरले अमेरिका, जापान, चीन, स्विट्जरल्यान्ड, जर्मनी, तत्कालीन चेकोस्लोभाकिया, अस्ट्रिया, हङ्गेरी, रोमानिया, पोल्यान्ड, फ्रान्सलगायतका मुलुकको भ्रमण गरी ती मुलुकका विभिन्न शहरमा आफूद्वारा प्रतिपादित ‘मानवतावाद’ दर्शन अर्थात् मानव अधिकारका बारेमा प्रवचन दिएका थिए । जयपृथ्वीबहादुरको यस प्रयासले जनस्तरबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन र विस्तारमा उल्लेख्य योगदान पुगेको भन्न सकिन्छ ।

जयपृथ्वीबहादुरले मानव जीवन र जगत्का बारेमा आफ्नो पुस्तक ह्युम्यानिज्ममा यसरी लेखेका छन्, “जगत्को सृष्टि ईश्वरबाट भएको हो भन्ने सोचाइ मानिसहरूकै हो । मानिसले आफ्नो प्रारम्भिक युगमा जीवन सुरक्षाका निमित्त एउटा बाटो खोज्नुपर्ने थियो । त्यसबेला बलियाले निर्धालाई हेप्ने प्रवृत्तिले सङ्गठनको सोचाइ आयो । सङ्गठनको अवधारणाबाट समाजको जन्म भयो । समाजको सुरक्षा र सञ्चालनका निमित्त शक्ति सन्तुलन गराउन एक प्रमुख व्यक्तिलाई अधिकार सम्पन्न गराउनुपर्ने भयो । यो शक्ति परिवारमा बावुले पायो र बावु मरेपछि छोरानातिमा सर्दै गयो । अधिकार सम्पन्न व्यक्तिलाई अरूले मान, सम्मान र पूजा गर्ने परिपाटी बस्दै गयो तथा पुख्र्यौली पूजा स्थापित भयो ।

उनले अगाडि लेखेका छन्, “चराचर जगत्मा भइरहने प्राकृतिक परिवर्तन, ठूल्ठूृला पहाड, चन्द्र, सूर्य, विनाशकारी प्रलय, आँधीबेहरी, बाढीपहिरो, स्वच्छ वातावरण, शीतल हावा आदि सबै देखेर मानिसले यसका पछाडि कुनै अदृश्य शक्ति रहेको अनुमान गरे । यो आफ्नै मरेको बावुको आत्मा पनि हुन सक्ने अनुमान गरेर त्यो अदृश्य र शक्तिशाली आत्माको पूजा गर्ने, चाडपर्व मनाउने परिपाटीको विकास मानिसले नै गरे । प्रकृतिका नियमित क्रियाकलाप जस्तो सूर्य उदाउने, अस्ताउने, राति तारा चम्किने, ठिक ठिक समयमा ऋतु परिवर्तन हुने, पानी पर्ने, जाडो–गर्मी हुने आदि अवस्थासँगै मानव समाज सञ्चालित हुने भएकाले समाजका हरेक सदस्यलाई एकअर्काको सहयोगको खाँचो महसुस भयो । समाजका सबै सदस्य मिलेर आपसी समझदारी कायम राखी काम गर्नुपर्ने भयो । समाजमा गलत काम गर्नेलाई दण्ड दिलाउन सर्वोच्च शक्ति प्राप्त राजाको परिकल्पना भयो । यसरी मानिसको समाजसितको सामञ्जस्य कायम भयो । आफ्ना पूर्वजको आत्माको डर, नियन्त्रण र मार्गदर्शन बिनाजगत् सञ्चालन हुन नसक्ने विश्वासले मानिसले उनीहरूमाथि शासन गरिरहेको एक अदृश्य शक्तिशाली देवता स्थापित भए ।”

‘दी नर्थ चाइना डेली न्युज’ का प्रतिनिधिसँगको भेटमा जयपृथ्वीबहादुरले यस्तो कुरा अभिव्यक्त गरेका थिए, “सन् १८९३ मा सम्पन्न भएको पहिलो विश्व आस्था मैत्री सम्मेलनका प्रतिनिधिले आआफ्ना धर्मको मात्र गुणगान गाए र उनीहरू मूल रूपमा आफ्नै धर्मसँग सम्बन्धित थिए तर सन् १९३३ को सम्मेलनमा त्यसको ठिकविपरीत धर्मलाई मानव कल्याणका लागि उपयोग गर्ने भएका छन् ।”

मानवतावादका पक्षधर जयपृथ्वीबहादुर सधैँ  निःशस्त्रीकरणको पक्षमा उभिए, वकालत गरे । यो उनको सिद्धान्तको एक पाटो थियो ।  यसरी नेपालका एक महान् कूटनीतिज्ञ, महापुरुषले प्रतिकूल परिस्थितिमा पनि आफ्नो विचार र दर्शन विश्वलाई दिए ।

देशमा रहँदा तत्कालीन जहानियाँ राणा शासन तथा बेलायती साम्राज्यवादविरुद्ध अखबार, जर्नल, पुस्तक प्रकाशन र प्रवचनमार्फत शिक्षा दिने, जागरण फैलाउने, सूसुचित गर्ने जस्ता कार्यबाट जनमत सिर्जना गरेकै आरोपमा निर्वासन र नजरबन्दमा रहेको अवस्थामा बेङ्गलोरको जय भवनमा १९९७ साल असोज १ गते जयपृथ्वीबहादुरले अन्तिम सास लिए, उनको जन्म महिना भदौ हो ।

बेङ्गलोरमा जयपृथ्वीबहादुरसँग रानी खड्ग दिव्यश्वरी लक्ष्मीबाहेक अरू कोही आफन्त नरहेको भनी मिमियो बर्माको सत्यवादी  नेपाली पाठशालाका शिक्षक हर्षध्वज राईले ‘बितेका बेलीविस्तार आत्मवृत्तान्त’ मा लेखेका छन् ।

वर्तमान विश्वका मानव समस्या समाधानको प्रमुख साधन मानव अधिकार नै हो भन्ने मानवतावादी दर्शनका प्रणेत जयपृथ्वीबहादुरलाई नेपाल सरकारलले २०८१ सालमा राष्ट्रिय विभूति घोषणा गर्‍यो ।  

 –युवामञ्च  

Author

तारा बस्याल