• १५ चैत २०८०, बिहिबार

सुदूरपश्चिमका स्थानीय तहले ल्याए बजेट

blog

सुदूरपश्चिम ब्युरो 

धनगढी, असार १० गते  । सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । 

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।

धनगढीको बजेट झन्डै दुई अर्ब 

धनगढी समाचारदाताका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक अर्ब ८३ करोड ८९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । 

शुक्रबार नगर सभाको आठौँ अधिवेशनमा उपप्रमुख कन्दकला राना थारूले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालूतर्फ एक अर्ब तीन करोड १९ लाख र पुँजीगततर्फ ८० करोड ६९ लाख ५४ हजार रुपियाँ विनियोजन गरिएको छ । धनगढी उपमहानगरपालिकाले चालू वर्षको तुलनामा एक करोड छ लाख ३१ हजार रुपियाँ बढाएर बजेट ल्याएको हो ।  

यसैगरी धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष आन्तरिकतर्फको आय २६ करोड ७९ लाख २४ हजार, राजस्व बाँडफाँटतर्फको आय ४७ करोड २९ लाख ३३ हजार रुपियाँ रहने जनाइएको छ । यसैगरी सङ्घीय सरकारबाट अन्तरवित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तरसरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार रुपियाँ प्राप्त हुनेछ । यस्तै चालू आर्थिक वर्षको सरी आएको रकम १० करोड आयतर्फ रहने बजेट वक्तव्यमा उल्लेख छ । 

धनगढी उपमहानगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई पुनरवलोकन गरी प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाएको बजेट वक्तव्यमा भनिएको छ । 

यसैगरी कैलालीकै गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड आठ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार भएको नगर सभामा नगरप्रमुख वीरेन्द्र भट्टले बजेट प्रस्तुत गर्नुभयो । कुल बजेटमध्ये चालूतर्फ ७१ करोड ३३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरिएको छ । 

यस्तै कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । शुक्रबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले बजेट प्रस्तुत गर्नुभयो । सो गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८÷७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट ल्याएको थियो । यस पटक बजेट घटेको छ । सो गाउँपालिकाले ससर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन÷प्रशासनिक (चालू)तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी समपुरक कोषतर्फ छ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

झोलुङ्गे पुल लागत साझेदारीतर्फ २० लाख, मर्मत सम्भार कोषका लागि ४७ लाख २१ हजार, दमकल खरिद तथा व्यवस्थापनमा ३५ लाख, भूमि व्यवस्थापन (भूमि आयोग)का लागि २० लाख, डिजिटल प्रोफाइलका लागि २२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । 

यसैगरी विस्तृत परियोजन प्रतिवेदनका लागि २५ लाख, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि १५ लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख, क्षमता विकास तथा रोजगार कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमतर्फ १५ लाख, विशेष अनुदान कार्यक्रम, अध्यक्ष स्वरोजगार कार्यक्रम, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५-१५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । 

विधेयक समिति र न्यायिक समितितर्फ तीन÷तीन लाख गरी गाउँपालिकाले विनियोजनतर्फ कुल ४८ करोड ३५ लाख २१ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । 

यसैगरी विषयगत समितिअन्तर्गत पूर्वाधार विकास समितिका लागि तीन करोड, आर्थिक विकास समितिका लागि दुई करोड ५० लाख, वन, वातावरण तथा विपत् व्यवस्थापन समितिका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासतर्फ तीन करोड ९० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३० लाख, लक्षित वर्ग कार्यक्रमतर्फ एक करोड रुपियाँ विनियोजन गरिएको छ । 

गाउँपालिकाले प्राप्त गर्ने आम्दानीमा सङ्घीय सरकारबाट प्राप्त हुने ५४ करोड ३३ लाख १० हजार, प्रदेश सरकारबाट प्राप्त हुने एक करोड ७७ लाख ६१ हजार रुपियाँ रहेको छ । यसैगरी, आन्तरिक आम्दानीमा तीन करोड १४ लाख ५० हजार रुपियाँ रहेको गाउँपालिकाका उपाध्यक्ष चौधरीले बताउनुभयो । 

टीकापुरको बजेट ८५ करोड

टीकापुर समाचारदाताका अनुसार टीकापुर नगरपािलकाले आव २०७९/८० का लागि ८५ करोड आठ लाख ८४ हजारको बजेट ल्याएको छ । टीकापुरका नगर उपप्रमुख खडकबहादुर शाहले ११औँ नगर सभामा बजेट प्रस्तुत गर्नुभएको छ । यसअघि नगरप्रमुख रामलाल डङ्गौरा थारूले चालू आव २०७८/७९ मा एक अर्ब एक करोड ६८ लाख बजेट विनियोजन भएकोमा हालसम्म चालूतर्फ ३८ करोड ७४ लाख ५४ हजार र पुँजीगत खर्चतर्फ १८ करोड ७८ लाख ७३ हजार खर्च भइसकेको जानकारी दिनुभयो । आगामी वर्षको टीकापुर नगरको आन्तरिक आय सात करोड ५० लाख हुने अनुमान गरिएको छ ।

नगरपालिकाले अघिल्ला वर्षमा सञ्चालन गर्दै आएका टीकापुर अस्पताललाई दुई जना विशेषज्ञ चिकित्सक, हाम्री छोरी प्यारी छोरी, होम टु हस्पिटल, मेयर प्राविधिक छात्रवृत्ति कार्यक्रम, आमा बुवासँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिएको छ ।

भजनी नगरपालिकाले ७० करोड ६९ लाख १७ हजारको बजेट ल्याएको छ । चालूतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपियाँको बजेट नगरउपप्रमुख राजु तिरुवाले प्रस्तुत गर्नुभएको थियो । भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरियाले ४८ लाख करोड ११ लाखको बजेट प्रस्तुत गर्नुभएको छ । लम्कीचुहा नगरपालिका प्रमुख सुशीला शाहीले आव २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । बजेटसम्बन्धी तयारी नभएकाले असार २३ गते प्रस्तुत हुने उपप्रमुख जुना चौधरीले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाले ६९ करोड ३९ लाखको बजेट ल्याएको छ । दशौँ गाउँ सभामा उपाध्यक्ष लालमति कठरियाले चालूतर्फ ४५ करोड ८४ लाख र पुँजीगततर्फ २३ करोड ५५ लाख खर्चको अनुमान पेस गर्नुभएको छ । गाउँपालिकाको आन्तरिक आय तीन करोड नौ लाख ५५ हजार हुने अनुमान छ ।

एमबीबीएस पढ्न अनुदान 

बझाङ समाचारदाताका अनुसार खप्तडछान्ना गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेर एमबीबीएस अध्ययनका लागि सम्बन्धित निकायबाट छनोट भएका विद्यार्थीका लागि अनुदान दिने भएको छ । 

खप्तडछान्ना गाउँपालिकाभित्र एमबीबीएस पढेका विद्यार्थीको सङ्ख्या कम भएकाले चिकित्साशास्त्र पढ्न इच्छुक विद्यार्थीका लागि पैसाको अभावले पढाइ वञ्चित नहोस् भनेर पालिकाले सो निर्णय गरेको हो । 

गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिवेशनबाट एमबीबीएस पढ्ने विद्यार्थीका लागि जम्मा लागतको १० प्रतिशत अनुदान दिने निर्णय गरिएको हो । पालिकाको लगानीमा एमबीबीएस तथा भूगोलशास्त्र पढ्ने विद्यार्थीलाई दुई वर्ष पालिकामा काम गर्ने अनिवार्य सर्तसहित अनुदान दिने नीति ल्याएको हो । सो व्यवस्थालाई कार्यविधिमार्फत व्यवस्थित गरिने बताइएको छ । बिहीबार भएको दोसोे गाउँ सभाको पहिलो अधिवेशनमा ४० करोड ५० लाख ४८ हजार रुपियाँको बजेट प्रस्तुत गरिएको उपाध्यक्ष विष्णु थापाले बताउनुभयो । 

अमरगढीमा ६४ करोडको बजेट 

अमरगढी समाचारदाताका अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले झन्डै ६४ करोड आय हुने अनुमानसहित नयाँ आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याएको छ । असार १० गते नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार अमरगढीले कृषि तथा पशुपालनलाई मुख्य आर्थिक क्षेत्रमा समेट्दै शुक्रबार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । चालू आर्थिक वर्षमा एक करोड ८० लाख ६३ हजार राजस्व सङ्कलन हुने अनुमानमा अमरगढीले आगामी आर्थिक वर्षको असार मसान्तसम्ममा राजस्व वृद्धि भइसक्दा तीन करोड ४८ लाख ५५ हजार हुने बजेट वक्तव्यमा उल्लेख गरेको छ । 

यस्तै नेपाल सरकारबाट १२ करोड ३० लाख र प्रदेश सरकारबाट २९ लाख ७५ हजार रुपियाँ राजस्व बाँडफाँटमार्फत प्राप्त हुने, नेपाल सरकारबाट ससर्त अनुदान स्वरुप प्राप्त हुने रकम ३८ करोड १४ लाख समेत गरेर ६३ करोड ९१ लाख ९६ हजार मात्र आय हुने अनुमान गरिएको उपप्रमुख पार्वतीदेवी झुकालका तर्फबाट वडा नम्बर ७ का वडाध्यक्ष खडक बोहराले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रममा आर्थिक क्षेत्रमा कृषि तथा पशुपालनतर्फ कृषि पेसालाई व्यावसायिक बनाउन आधुनिकीकरण गरेर उन्नत जातका बीउबिजन तथा अत्याधुनिक कृषि औजारको प्रयोगतर्फ कृषकहरूलाई विशेष सहुलियत प्रदान गरेर उत्पादनमा वृद्धि गर्ने नीति अवलम्बन गर्ने जनाइएको छ । कृषि पेसालाई सम्मानित पेसाका रूपमा विकास गर्न नमुना कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकहरूका लागि उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

वित्तीय क्षेत्रतर्फ वित्तीय संस्थामा सहज पहुँचको नीति अवलम्बन गरिने उल्लेख छ । उद्योग तथा वाणिज्यतर्फ स्थानीय स्रोतको प्रवद्र्धन उद्योगको संवद्र्धन भन्ने नारासहित उद्योगग्राम स्थापना गरिने नीति लिइएको छ । ‘पर्यटन संस्कृतितर्फ पर्यटनमा लगानी, समृद्धिको बिहानी’ भन्ने नारासहित अमरगढीलाई पर्यटकीय नगर घोषणा गर्न पहल गर्ने, डोटेली सङ्ग्रहालय स्थापना गर्ने, ऐतिहासिक किल्ला अमरगढीभित्र सङ्ग्रहालय स्थापना, धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारमा जोड दिइने उल्लेख गरिएको छ । 

सामाजिक विकासतर्फ शिक्षामा दक्ष जनशक्ति निर्माणको आधार गुणस्तरीय शिक्षामा आधुनिक प्रविधि र शैक्षिक पूर्वाधार भन्ने नारासहित छात्रवृत्ति, विद्यालय झिकाऔँ, टिकाऔँ, सिकाऔँ र बिकाऔँ अभियानलाई साकार पारिने उल्लेख छ । 

स्वास्थ्यमा ज्येष्ठ नागरिक उपचारअन्तर्गत ६८ वर्ष उमेर पुगेकालाई निःशुल्क घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम कलेजो र महिलाको पाठेघरसम्बन्धी रोगको समस्या भएकाहरूलाई घरमै निःशुल्क औषधि वितरण, कोभिड–१९ बाट प्रभावितलाई सुरक्षित बनाउन प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने आदि उल्लेख गरिएका छन् । बृहत् ढल व्यवस्थापन परियोजनामार्फत प्रशोधन केन्द्र स्थापना गरेर सो पानी सिँचाइका लागि प्रयोग गरिने, एक घर एक स्वच्छ खानेपानी धारा नीति अवलम्बन गर्ने, फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सार्वजनिक निजी साझेदारी नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । 

महिलाहरूका लागि सीप विकास तथा उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, सडक तथा यातायाततर्फ सामाजिक आर्थिक रूपान्तरणको आधार, बस्तीबस्तीमा यातायात पूर्वाधारको नीति अवलम्बन गर्दै नगर बस सञ्चालन गर्ने, भित्री, मध्य र बाहिरी चक्रपथ निर्माण गर्ने, सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने, सडक कालोपत्रे गर्ने नीति अमरगढी नगरपालिकाले लिएको छ ।