• ५ भदौ २०८२, बिहिबार

दिदीबहिनी विशेष

तिजको बदलिँदो स्वरूप

blog

नेपाली समाजमा प्राचीन कालदेखि तिजलाई एक महìवपूर्ण पर्वको स्थान दिइएको छ । बाल्यकालमै विवाह भएर पराइघर पुगेका छोरीचेलीलाई माइतीकातर्फबाट निम्तो गरी ती चेलीहरूसमेत भेला भई दर खाएर रमाइलो गर्ने पर्व तिज महिलाबिचको एकता र मिलनको पर्व हो । तिज सामाजिक तथा सांस्कृतिक धरातल निर्माण गरी सम्बन्ध विस्तार गर्ने पर्व पनि हो । घरमा सासू, बुहारी, नन्द र भाउजूबिचको सम्बन्धलाई गीतमार्फत उजागर गरी उनीहरूको सम्बन्ध प्रगाढ हुनुपर्ने सामाजिक सन्देश यस पर्वले प्रसारण गरेको पाइन्छ । यति मात्र होइन, महिलाहरूले आपूmमाथिको उत्पीडनका विरुद्धमा प्रतिरोध प्रस्फुटन गर्ने अवसरका रूपमा पनि यस पर्वलाई प्रयोग गरेका छन् । धार्मिक, सांस्कृतिक र सामाजिक संस्कारलाई पृष्ठभूमिमा राखेर जीवनका अनेक मोडमा अनेक प्रकृतिका तिज मनाइएको छ । रहर, बाध्यता, अवसर र चुनौती सबै पक्षबाट तिज पर्वको सामाजिक अभ्यास गरिएकै छ । विभिन्न समयमा जितको स्वरूप, सार र सन्देशमा भन्नता आएका छन्, जसलाई सांस्कृतिक परिवर्तन भन्न सकिन्छ । 

म सानो छँदा तिज मनाएको खासै याद छैन । बुझ्ने भएपछि व्रत बस्ने अघिल्लो रात दर खाएको सम्झना छ । म छ वर्षको हुँदा आमा दिवङ्गत हुनुभयो । आमा नभएकाले घरमा महिला कोही भएनन् । हजुरआमा उमेरको उत्तरार्धमा हुनुहुन्थ्यो । त्यसैले तिजको रमाइलोमा मिसिने रहर उहाँमा थिएन । बुबा मात्र भएका घरमा फुपूहरू आउने कुरै भएन । बुबा र मलाई माइजूले दर खान बोलाउनुहुन्थ्यो । मामाघरको दरको स्वाद कसै गरी भुल्न सकेको छैन यो जिब्राले । दाइको बिहे भएपछि भाउजूले तिज मनाउने परम्परालाई निरन्तरता दिनुभयो । घरमा दर खाने चलन फेरि प्रारम्भ भयो । दरसँगै खुसीको लहर भित्रियो ।

भाउजू दर पकाउनुहुन्थ्यो । माछामासु खाने चलन थिएन । बेलुकै तरकारी र भात पकाएर राखिएको हुन्थ्यो । कुनै कुनै बेला खिर पनि पाक्थ्यो । राति तीन बजेतिर भाउजूले दर खान उठाएपछि आँखा मिच्दै उठेर चुुलामा जान्थेँ म । भाउजू र म बेलुका नै पकाएर राखेको भातमा टन्न घिउ राखेर खान्थ्यौँ । भात खाएपछि हामी फेरि सुत्थ्यौँ । दोस्रो निद्राले छोपेकाले होला सँघारभरि घाम पोतिएपछि मात्र बिउँझन्थ्यौँ । हाम्रातिर छोरीले तिजको व्रत बस्ने चलन थिएन । महिनावारी नहुँदासम्म त पञ्चमी पनि नुहाउनु नपर्ने । एक हिसाबले सजिलो चलन रहेछ । अठार वर्षमा मात्र पहिलो महिनावारी भएको म जस्तालाई त सहज नै भयो त्यो संस्कार । व्रतालुकै लहरमा मिसिएर राति उठी खाना खाए पनि बिहान सधैँकै समयमा उही परिमाणमा खाना खान्थेँ म । भाउजू भने बिहेका राता लुगा र गहना लगाएर कुटीडाँडाको मन्दिरमा नाच्न जानुहुन्थ्यो । त्यस दिनको कामधन्दा तथा गाईबाख्राको हेरचाह र घाँसपात गर्ने काम मेरो भागमा थपिन्थ्यो । साँझमा भाउजू आएपछि पूजाआजा गरी पानी खाएर व्रत सक्नुहुन्थ्यो । पानी नराखी हाँडीमा डामेको आलु खानुहुन्थ्यो । तिजलाई नै भनेर सबभन्दा माथिको हाँगामा नासपाती जोगाएर राखिएको हुन्थ्यो । व्रतका दिन बुबाले रुखमा चढेर नासपाती झार्नुहुन्थ्यो । माहुरी र अरिङ्गालले प्वालैप्वाल पारेका नासपाती बास्नादार हुन्थे । लेक भएकाले हाम्रातिर केरा फल्दैनथ्यो । बारीमा जे फल्छ त्यही खाएर काकी र भाउजूहरू व्रत बस्थे । त्यो बेला केको स्याउ, केको अनार ? बारीमा फलेका काँव्रmा नै थपिन्थे भागभरि । 

समयले कोल्टे फे¥यो । एसएलसीको सफलतापछि उच्च शिक्षाका लागि दोलखाको सुस्पा क्षमावतीलाई छोडेर काठमाडौँ पसेँ । अनेक नयाँ चालचलन, संस्कृृति र परम्परा मेरा सामुन्ने उभिए । रातो सारी लगाई सासू, नन्द र आमाजूलाई गाली गर्दै पशुपतिका आँगनमा भेला भएर नाच्ने लहर बढेको देखेँ । बिहेअघि व्रत बस्नु नपर्ने तर पञ्चमी भने नुहाउनुपर्ने चलनमा म पनि तानिएँ । आँगनको धारामा पानी आउँदा शरीरका सबै भाग १०८ पटक नुहाउनुपथ्र्यो । म फटाफट गन्दै नुहाउँथेँ । ठुली भाउजूलाई भने गन्न अप्ठ्यारो हुन्थ्यो अनि म गनिदिन्थेँ । अरूभन्दा हामी ढिला हुने कारण यही गणना बन्थ्यो । 

कामको सिलसिला पछ्याउँदै अघि बढ्दा विभिन्न जिल्लामा तिज मनाउने अवसर प्राप्त भयो मलाई । सुदूरपूर्वी बस्तीदेखि पश्चिमी बस्तीसम्म विभिन्न तिज देखेँ मैले । कतै कट्टर, कतै सामान्य र कतै आधुनिक तिज । लमजुङको अर्चलबोटमा तिज मनाएको सम्झना ताजै छ । गुरुङ र मगर समुदायको बाहुल्य रहेको अर्चलबोटमा रातको समयमा दर कार्यव्रmम राखिएको थियो । गाउँभरिका दिदीबहिनीहरू एकै ठाउँमा भेला भएका थिए । बडेमानका मुढा जोतेर आगो बालिएको थियो । ठुल्ठुला खँड्कुलामा खिर बसाइएको थियो । आलुसिमीको तरकारी, मूला र काँव्रmाको अचार । ज्यादै स्वादिष्ट परिकार ग्रहण गरी दरसंस्कृतिलाई निरन्तर गरेका थियौँ हामीले । यो जनजाति समुदायले आयोजना गरेको दर कार्यव्रmम थियो । सामान्य पहिरनमा आएका दिदीबहिनीहरूले स्थानीय भाकाका गीत गाई रमाइलो गरेका थिए । रातो कपडा लगाउनुपर्ने बाध्यकारी सूचना थिएन त्यहाँ । मैले गाउँतिर घुम्दा लगाउने सामान्य पहिरनमा त्यो संस्कृतिलाई साथ दिएँ । निकै बेर रमाइलो नाचगान हेरेपछि साथी राममाया मगरका निवासमा पुगी विश्राम लिएका थियौँ । 

कर्णाली प्रदेशको सुर्खेतको बराहताल गाउँपालिकामा दुई वर्ष बस्दा दुई वटा तिज मनाउने अवसर जु¥यो मलाई । त्यस इलाकामा तिज मनाउने अवधि निकै लामो हुँदो रहेछ । कृष्णाष्टमीका दिनबाट तिजको नाच सुरु गरिँदो रहेछ । हरेक साँझ कसका घरमा नाच्ने भनी दिउँसै तय गरी जुट्ने चलन रहेछ । बेलुकीको खानापछि घरधन्दा सकेर दिदीबहिनीहरूका साथमा पुरुषहरू पनि भेला हुने गजबको चलन त्यहाँ देखियो । जिम्मेवारी तोकिएको समूहले मादल तथा अन्य लोकबाजाका साथै साउन्ड सिस्टम पनि बोकेर आउने प्रचलन रहेछ । बत्ती नभएकाले साउन्ड सिस्टमका निम्ति उनीहरू सोलारको प्यानलै लिएर आउँथे । संस्कृतिप्रतिको उनीहरूको झुकाव देखेर मेरो मनभरि सम्मानको लालीगुराँस फुल्दथ्यो । 

लामो समयसम्म नाचगान गर्ने भएकाले गाउँका सबै घरमा पुगियो । दोहोरी गाइयो, नाचियो अनि हरेकका घरमा मिठोमसिनो चाखियो । बराहतालमा छोरीबुहारी सबैले अनिवार्य रूपमा तिजको व्रत बस्ने चलन रहेछ । पहिरन यही भनी तोकिएको पाइएन । मगर तथा गुरुङ समुदायका नारीहरूले जातीय पहिरन लगाएको पाइयो । ब्राह्मण र क्षेत्री समुदायकाले अलि रातो पहिरन लगाई सांस्कृतिक समारोहमा उपस्थिति जनाउँथे । व्रतको केही दिनअघि बराहतालको बड््डीचौरमा ठुलो मेला लाग्दो रहेछ । मेलामा पालिकाभरिका महिलाहरूका बिचमा तिजगीत प्रतियोगिता हुँदो रहेछ । कर्णालीका तिजगीतमा सासू, नन्द र आमाजूलाई गाली गरेको पाइएन । ती गीतमा श्रीमान्ले दिएको पीडाको अभिव्यक्ति सघन रूपमा व्यक्त भएको पाइयो । रक्सी खाएर श्रीमान्ले पिटेको, बच्चा जन्माउन नसकेर महिलाहरूले मृत्युवरण गर्नु परेको, मायाप्रेममा चुर्लुम्म डुबेको लगायत भावाभिव्यक्ति त्यस इलाकाका तिजे गीतमा गाइने विषय भएको मैले सुनेँ ।

कामको सिलसिलासँगै अघि बढ्दै जाँदा एक वर्षको तिज सुदूरपश्चिममा मनाएँ मैले । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका पुग्दा सुदूरलाई तिजले छोपिसकेको थियो । यसै बिचमा एक दिन छुट्टी मिल्यो । यसैलाई सदुपयोग गर्न गाउँपालिकाबाट दुई घण्टाको पैदल दुरीमा रहेको प्रख्यात दुर्गाको मन्दिर रहेको दुर्गाथली जाने निधो भयो । हाम्रो टोलीका सबै जना नजाने भए । म, सुमन सर र राजु दाइ जाने भयौँ । साथमा पालिकाका उपाध्यक्ष र उहाँकी श्रीमती पनि थपिनुभयो । दुर्गाथलीको प्राकृतिक सुन्दरता देखेर म दङ्ग परेँ । नआएको भए संसारको एउटा सौन्दर्य देख्नबाट वञ्चित हुने रहेछु भनी आफैँलाई धन्यवाद दिएँ । कलाकारले मिलाएर बनाएको चित्र जस्तो देखिने दुर्गाथलीको फाँटमा धानको रोपो हरियो देखियो । खेतका ससाना गरामा रोपोको सौन्दर्य । तरेली परेका पाटाहरू । आलीमा रोपिएको भटमास र मास । तिनले थपेको सौन्दर्य । ठुलो फाँटका माझमा दुर्गाको मन्दिर । फाँटभन्दा माथि सानो तर झुरुप्प बसेको बस्ती । ढुङ्गाको छानो भएका साना घरका आकृति । कुनै भान्सा घर, कुनै सुत्ने घर, कुनै गाईको गोठ अनि कुनै बाख्रा र कुखुरा राख्न बनाइएका घर जस्ता खोर । 

मन्दिर नपुग्दै भदौरे झरी आरीले घोप्टाए झैँ बर्सियो । हामीले नभिजी सुखै पाएनौँ । कच्ची बाटो, गाडीमा फर्किने अवस्था पनि थिएन । त्यतै बास बस्नुपर्ने भयो । गाउँपालिकाका उपाध्यक्षको सहयोगमा हामीले बास पायौँ । म, सुमन सर र राजु दाइ थियौँ । राजु दाइ सवारी चालक अनि सुमन सर हाम्रो समूहका नाइके । बिजुली नभएकाले अँध्यारोको चर्को दमन सहनुपर्ने नै भयो । जुन घरमा बास बस्ने निधो गरेका थियौँ त्यसै घरका आँगनमा दरको कार्यव्रmम राखिएको रहेछ । हामीलाई पनि उनीहरूले दरका निम्ति निमन्त्रणा गरे । आफन्त तथा चेलीबेटीहरूको भव्य भेला रहेछ । सहभागी सबै केलाउने र पकाउने कामका व्यस्त थिए । भदौरे झरी एकोहोरो बर्सिइरहेको थियो । 

खाना खाइसकेपछि नाचगान सुरु गरे चेलीबेटीहरूले । गाउने कोही देखिएन । साउन्ड सिस्टमको सहायता लिई दिदीबहिनीहरूले नृत्य प्रारम्भ गरे । त्यस घरका बा अलि कडा मिजासका रहेछन् । उनीसँग सबै डराउँदा रहेछन् । मेरा बारेमा उनले निकै सोधीखोजी गरे । हाम्रो टोलीमा महिला र पुरुषको उपस्थिति भएकाले श्रीमान् श्रीमती पो हुन् कि भन्ने लख काटेका रहेछन् । हामी श्रीमान् श्रीमती होइनौँ, कामका लागि सँगै आएका हौँ भनी मैले प्रस्ट्याएँ । त्यसपछि मात्र बाले कान्छी छोरीलाई मेरा निम्ति साथी पठाउन अनुमति दिए । सुमन सर, राजु दाइ र उपाध्यक्ष नजिकैको घरमा सुत्न जानुभयो । बिहान थाहा भयो सरहरू बसेको घर दुर्गाथली गाउँपालिकामा र म बसेको घर छब्बिस पाथीभेरा गाउँपालिकामा पर्दो रहेछ । आफन्तहरूलाई राजनीतिक नक्साले सीमावारि र पारि बाँडिदिएको रहेछ ।

ढोका खुला थियो । म आराम गर्न बेलैमा पल्टिएकी थिएँ । पानी एकतमास बर्सि नै रहेको थियो । रात केही छिप्पिएपछि ती बाले आमालाई पिट्न थालेको पो सुनियो । छोरीहरूले आमालाई लुकाउन मेरै कोठामा ल्याए । आमा कुनामा बसी मनको पीडा आँसुले पखाल्ने प्रयत्नमा थिइन् । आमाछोरीको भाषा राम्ररी ठम्याउन सकिनँ मैले । आमालाई लुकाएर बाहिर निस्किएकी छोरी निकै अबेर मात्र कोठामा आई । आमालाई आपूmसँगै सुताएर उसले द्वन्द्वको एक झोक्कालाई शान्त बनाई । 

दरकै दिन बुढाबाले उमेर छिप्पिसकेकी आमालाई त्यसरी किन पिटे ? तिजको रमझम छ एकातिर, अर्कातिर बुढी आमाको रोदन । देशैभर नारीहरू उत्पीडनका विरुद्ध कम्तीमा गीतमार्फत भए पनि प्रतिरोधी आवाज बिउँझाउँदै छन् । उमेरको जतिसुकै माथिल्लो सिँढी चढी बुढ्यौली जीवनतर्फ पदार्पण गरे पनि पुरुष दमनबाट नारीले मुक्ति पाउन नसकेकै हुन् त ? 

तिजहरू संस्कृति र विकृति हुँदै प्रतिरोधी बनिरहे पनि पितृसत्ताको जब्बर अस्तित्व नङ्ग्रा फिँजाएर डुलिरहेको छ मेरै वरिपरि । पुरुष पिता हुन्, पति हुन् र हुन् मेरा दाजुभाइ । उनीहरूसँग सहयात्रा नगरी मैले देखेको मुक्तिको यात्रा पूर्ण हुने छैन । उनीहरू मेरो अभियानका सहयात्री हुन् । तर आज जुन दृश्य देखेँ त्यसले मेरो सुरक्षाका आधारहरू नराम्ररी चर्किएको अनुभूति भएको छ । उमेरको सत्तरी हिउँदवर्षा छिचोलिसक्दा पनि पुरुषको भौतिक आव्रmमणलाई चुपचाप सहिदिने सुदूरकी यी आमालाई चेतनाभरि टिपेर मनभरि विद्रोह उमारी रहेको छु । आखिर तिनकी सन्तति त परेँ म पनि । 

बदलिँदो सांस्कृतिक र राजनीतिक परिवेशमा हामीले परम्परादेखि मनाउँदै आएका चाडपर्वहरू परिवर्तन भई पुनः परिभाषा गर्नुपर्ने स्थितिमा पुगी सुस्ताएका छन् । चाडपर्व मनाए पनि त्यसको शैली फरक भएको छ । गमेर ल्याउँदा हाम्रा मौलिक चाडपर्वहरू विश्वव्यापी बन्न पुगेका पनि छन् । अहिले जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ त्यहाँ हाम्रा चाडपर्वहरूको उपस्थिति छ । अमेरिका, अस्ट्रेलिया जस्ता सम्पन्न देशका आँगनीमा तिजे भाका घन्किएको छ । संस्कृति समय अनुसार परिवर्तन हुने मात्रै नभई प्रसारण हुने विषय पनि त रहेछ ।

चाडपर्व मानिसको मनोरञ्जनका निम्ति नभई बाध्यताका स्वरूपमा उभिएका छन् । संस्कृतिले देशलाई समृद्ध बनाउँछ । संस्कृतिले नै राजनीति, समाज, जीवन र व्यवहारलाई बाटो देखाउँछ । आफन्तहरूका बिचमा समर्पणको भाव जागृत गरी उनीहरूमा विकास हुने सम्बन्धको गहिराइ विस्तार गर्न सके तिज पर्वको समाजशास्त्रीय, मानवशास्त्रीय, ऐतिहासिक तथा समाज मनोविज्ञानको धरातलीय उपादेयता जीवित हुने थियो । नारीमुक्तिका प्रश्नहरू घनीभूत रूपमा अभ्यासमा उत्रिन सके तिज पर्वको सान्दर्भिकता सदैव उज्यालिनेमा प्रश्नचिह्न नबन्ला सायद !  मधुपर्क