• ५ भदौ २०८२, बिहिबार

निर्माणमा बेथिती : कालोपत्रेको आशामा हिलो र धुलो खेप्दै स्थानीय

blog

रेसुङ्गा नगरपालिका–७ को अलपत्र देउराली–कमेरेपानी सडक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, भदौ ५ गते ।
सदरमुकाम तम्घासको मुख्य बजारसँग जोडिएकै सडक वर्षसम्म अलपत्र हुँदा कल्पना गरौँ दूरदराजको अवस्था कस्तो होला ? अहिलेसम्म निर्माण व्यवसायीले कालोपत्रे सकेर चिल्लो सडकमा हिँड्डु पर्ने स्थानीयले हिलो र धुलोको सास्ती सदरमुकामकै छेउँमा भोगिरहेका छन् ।

सरकारका नियामक निकाय सम्झौता सकिएकै तीन महिना बितेपनि व्यवसायीलाई कारबाही गर्न सकेको छैन । स्थानीय पूर्वाधार विकास कार्यालय रुपन्देहीमार्फत २०८१ मङ्सिर २४ गते एक करोड नौ लाख रुपियाँमा निर्माण सम्झौता भएको रेसुङ्गा नगरपालिका–७ देउराली–कमेरेपानी सडक अलपत्र परेको हो ।

सडक निर्माणका लागि एसएन कन्ट्रक्सन चाँगुनारायण काठमाडौँले सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८२ जेठ १५ गतेभित्र काम सक्नुपथ्र्यो । स्थानीय पूर्वाधार विकास कार्यालय बुटवल इन्जिनियर रमेश भण्डारीका अनुसार सम्झौता सकिएको तीन महिनासम्म प्रगती शून्य छ ।

ढलान र कालोपत्रेसहित ९३० मिटर काम गर्ने सम्झौतामा उल्लेख भए पनि निर्माण व्यवसायीले अहिलेसम्म दुई सय मिटर नालीको काम गरेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो । बजेट हुँदा निर्माण व्यवसायीले काम गरेनन् । अहिले सोही शीर्षकमा बजेट छैन । उहाँले सडकको हालसम्म भौतिक र वित्तीय प्रगती शून्य रहेको बताउनुभयो । व्यवसायीले लगेको पेश्की नौ लाख रुपियाँ समेत कार्यालयको खातामा तानिएको भण्डारीको भनाइ छ ।

कालोपत्रेको नाममा हुँदाहुँदैको सडक भत्काएर अस्तव्यस्त भएपछि नागरिकले सास्ती खेपेका छन् । निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका विरुद्ध स्थानीयले धेरै पटक आवाज उठाए । सडककै कारण वडा कार्यालय जाने बाटो अवरुद्ध भएका धेरै हुँदा समेत कतैबाट सुनुवाइ नभएको रेसुङ्गा नगरपालिका–७ का स्थानीय गशेण श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले सुन्दरनगरीको एउटा गाउँ हिउँदमा धुलाम्ये र बर्सातमा हिलाम्मे हुने सडकको मारमा परेको बताउनुभयो ।

समयमै काम नभएपछि स्थानीयहरुको अगुवाई गर्दै रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष रामप्रसाद पन्थीले एक महिना अगाडि जिल्ला प्रशासन कार्यालयमा सहजीकरणका लागि पत्र पठाउनु भएको छ । स्थानीयले प्रशासन र नगरपालिकाका ध्यानाकर्षण पनि गरिरहेका छन् । तर कामको प्रगती अगाडि नबढेको वडाध्यक्ष पन्थीले बताउनुभयो ।

स्थानीयले सम्झौताअनुसार समयमै काम नगर्ने, जथाभावी र अव्यवस्थित रुपमा काम गरेकाले वस्तीहरुनै जोखिमयुक्त बनेको गुनासो गर्ने गरेका छन् । निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा कार्यालयले समेत सास्ती खेपेको छ । काम गर्ने कामदारले समेत कामको पैसा नपाएपछि बिचल्ली बनेर घर गएको स्थानीयले बताए ।