रामकृष्ण बोहरा
बागलुङ, भदौ ५ गते । घोषणामा गौरवको आयोजना नामाकरण भएका छन् । काम भने कछुवा गतिमा हुँदा नागरिकले यात्रामा सधैंको सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरसहितका सडकको काम अझै सम्पन्न हुन सकेको छैन ।
वर्षायाममा सडकहरु नियमित सञ्चालनमा नआउँदा यात्रीहरुले हैरानी खेपेका छन् । ढोरपाटन–सालझण्डी सडक सहज नभएपछि ढोरपाटन घुम्न जाने पर्यटकले सास्ती खेपेका हुन् । ‘‘ढोरपाटनमा पर्यटकको ताँती लागेपनि हिलाम्य र जीर्ण सडकले यात्रा जोखिमपूर्ण छ’’ ढोरपाटन पुगेर फर्किनुभएका बागलुङ बजारका भूपाल कार्कीले भन्नुभयो । कालीगण्डकी करिडोर त यतिबेला धेरै ठाउँमा अवरुद्ध छ । बागलुङ खण्डको कालाखोलाको भीमकाय पहिरोले सदरमुकाम आउने गाडीलाई सास्ती छ ।
ढोरपाटन–सालझण्डी सडक निर्माण सुरु भएको १६ वर्ष बितिसक्दा पनि बागलुङ खण्डमा ३५ प्रतिशत मात्रै भएको छ । बागलुङमा पर्ने ६१ किमीमध्ये अधिकांश ट्रयाक मात्रै खुलेको छ । बुर्तिवाङ बजारदेखि ढोरपाटन पुग्ने सडकअन्तर्गतको २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिवाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्द संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको हो ।
बागलुङमा चारवटा रणनीतिक सडकको काम समेत वर्षौदेखि निर्माणाधिन अवस्थामा छन् । ती सबै आयोजना दशकदेखि अलपत्र छन् । २०७१ सालमा ठेक्का लगाइएको मध्यपहाडी लोकमार्गको सदरमुकाम बागलुङ बजारदेखि बिहुँको घोडाबाँधेसम्मको २५ किमी सडक अहिलेसम्म पुरा हुन सकेको छैन । पटक पटक म्याद थपेपनि ठेकेदारले काम अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको थियो । सिद्दिसाइ भारत संयुक्त निर्माण कम्पनीले ठेक्का लिए पनि काम अलपत्र छ ।
सडक जोखिमपूर्ण भएपछि बागलुङ र पश्चिम नेपालका रुकुम, जाजरकोट, दैलेख, रोल्पा र डोल्पादेखि चल्ने सवारीका यात्रीले सास्ती खेपेका छन् । यो खण्डमा हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने गरेको छ । पहिरोले सडक अवरुद्ध भैरहन्छ । निर्माण भैसकेको सडकखण्ड पनि जीर्ण बनिसकेको छ । गलकोट नगरपालिका–१ को चौराहा र झाँक्रीस्थान, वडा नं. ९ को मल्ममा सडक स्तरोन्नतिको काम हुन सकेको छैन ।
कालीगण्डकी करिडोरको मालढुंगा–कुश्मीसेरा सडकको एक्लेसालमा पाँच वर्षदेखि खसेको पहिरो व्यवस्थापन नभएपछि वर्षातमा पटक पटक सवारी अवरुद्ध भइरहन्छन् । बलेवादेखि गुल्मीको रिडीसम्मको ६० किमी कालोपत्रे भइसक्दा बिडारी कन्स्ट्रक्सनले जिम्मा लिएको १० किमी करिडोरको खण्ड अलपत्र परेको छ । यो खण्ड कालोपत्र नहुँदा दक्षिण बागलुङसहित गुल्मी, पाल्पादेखि मुस्ताङ जानेलाई सास्ती छ ।
‘‘काम लिएर अलपत्र पार्ने ठेकेदारलाई कडा कारवाहीका लागि सिफारिस गरेका छौं’’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले भन्नुभयो । सङ्घीय मन्त्रालय र नेतृत्वमा पहुँच राख्ने ठेकेदार कम्पनीले जिल्लाको अनुगमन समिति र नागरिकको आवश्यकतालाई चरम बेवास्ता गरेको थापाको बुझाइ छ । अनुगमन समितिको हैसियतले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थापाले बताउनुभयो ।
कुश्मीसेरा–बरेङ–शान्तिपुर रणनीतिक सडक अलपत्र परेपछि स्थानीयले पटक पटक आन्दोलन गर्नुपरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । गलकोटको हरिचौरदेखि मल्म, पाण्डवखानी हुँदै गुल्मी जोड्ने सडक, बुर्तिवाङदेखि बोङगादोभान–सोले हुँदै म्याग्दी जोड्ने सडक, गलकोटदेखि ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोड्ने रणनीतिक सडक पनि अलपत्र छन् ।