• ५ भदौ २०८२, बिहिबार

पानी परेपछि धानबाली झाँगिदै

blog

पानी परेपछि खेतमा हरियाली । तस्बिर: विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ५ गते ।
लामो समय वर्षा नभएर खडेरीका कारण सुक्खा भएका धानबाली पानी परेपछि हरियो भएका छन् ।

पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुक्खा भएका धानबाली झाँगिन थालेका छन् भने पानी पर्दा खेतमा रोपिएको धानले पुनर्जीवन पाएका छन् ।

पानी नपरेकै कारण रोपिएको धानबाली खेतमा सुक्न लागेको बेला पानी पर्दा धानले पुनर्जिवन पाएको हो ।

खडेरीको मार झेल्दै आएका सप्तरीसहित मधेश प्रदेशका किसानहरुका लागि यो अमृतवर्षा नै भएको छ भने आकाशे भरमा खेतीपाती गर्दै आएका किसान बुधबार पानी परेपछि हर्षित देखिएका हुन् ।

भदौ महिनाको पहिलो हप्ता बित्न लागे पनि फाटफुट रुपमा अहिले पनि सप्तरीमा धान रोपाइँ जारी नै छ । पानी नपर्नुले धानबाली लगाइएको धानबाली कसरी जोगाउने भने चिन्तामा उनीहरु डुबेका थिए ।

बुधबार रातिको बवर्षा पानीभन्दा पनि अमृत वर्षा भएको बिष्णुपुर गाउँपालिका १ का श्यामप्रकाश यादव बताउछन् । बोर्डिङ र मोटरले पनि पानी दिन छाडेपछि रोपिएको खेतमा पनि धान सुक्न लागेको थियो । वर्षा हुनुले खेतमा हरियाली छाएको उहाँले बताउनुभयो ।

“किसानले खेतमा लगाएको धानबालीले प्राण पाएको छ’’ उहाँले भन्नुभयो ।

पानीको लेयर घटेको कारण बोर्डिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर पनि धानबाली जोगाउन सम्भव थिएन, तर पानी पर्दा खेतको स्वरुप बदलिएको रुपनी ४ का किसान भगवती साहले सुनाउनुभयो ।

सप्तरीमा धेरैजसो किसान आकाशे भरमा खेती गर्दै आएका छन् यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेती योग्य जग्गा रहेकोमा त्यसमध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । तर यस वर्ष खडेरीका कारण सबै जमिनमा रोपाइँ हुन सकेको छैन ।