• ५ भदौ २०८२, बिहिबार

अग्नि पीडित शेर्पालाई मेरिङदेन गाउँपालिकाद्वारा राहत प्रदान

blog

आगलागीबाट प्रभावित परिवारलाई नगद तथा खाद्यान्न सहयोग हस्तान्तरण गर्नुहँदै गाउँपालिका अध्यक्ष युक हां वीर हाङगाम (डम्बर) । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, भदौ ५ गते ।
ताप्लेजुङको थिङलाबुका अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ । पालिकाले आगलागीबाट प्रभावित हुनु भएका स्थानीय पेम्बा शेर्पालाई आर्थिक सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेको हो ।

पीडित परिवारलाई पालिकाले नगद २० हजारसहित ५० केजी चामललगायत अन्य खाद्यान्न सामग्री उपलब्ध गराएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सामग्रीहरू त्रिपाल २ थान तथा ओछ्याउने म्याट्रेस १५ मिटर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम (डम्बर)लगायतको टोलीले घटनास्थलमै पुगेर सामग्री हस्तान्तरण गरेको छ ।

मेरिङदेन गाउँपालिका–१ थिङलाबुका स्थानीय नरेन्द्र थोप्राको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । थोप्राको घरमा अस्थायी रुपमा शेर्पा बसोबास गर्दै आइरहनुभएको थियो । मङ्गलबार दिउँसो भएको आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको बताइएको छ ।

घरभित्रै भान्साकोठा रहेकाले चुलोबाटै आगलागी सुरु भएको स्थानीयको भनाइ छ । ढुङ्गा, माटोले निर्मित फुसको छानो लाएको घरमा पूर्ण रुपमा जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ ।