• ४ भदौ २०८२, बुधबार

कर्णाली स्थापना तथा सहिद दिवस मनाइयो

blog

प्रदेश सरकारले आयोजना गरेको स्थापना तथा सहिद दिवस कार्यक्रम।

नवीन सुवेदी

सुर्खेत,भदौ ४ गते। आन्दोलन, चौतर्फी दबाब र नागरिकको बलिदानपछि जन्मिएको कर्णाली प्रदेशले बुधबार आफ्नो स्थापना तथा सहिद दिवस विविध कार्यक्रमसहित मनाएको छ। बिहानै राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट ब्यानर, प्लेकार्ड र ब्यान्डबाजासहित प्रभातफेरी निकालिएको थियो। त्यसपछि प्रदेश रङ्गशालास्थित कभर्डहलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, दलका सांसद, पूर्व मुख्यमन्त्री, कर्मचारी, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए।

२०७२ साल भदौ ४ गतेको आन्दोलनले नै कर्णालीलाई कान्छो प्रदेशको रूपमा स्थापित गरेको थियो। आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिं रजवार र जुम्लाका हरिबहादुर कुँवरले बलिदान दिएका थिए। सोही दिनलाई कर्णाली सरकारले प्रत्येक वर्ष स्थापना दिवसका रूपमा मनाउने गरेको छ।

बुधबारको कार्यक्रममा सात जना पत्रकारलाई पुरस्कार वितरण पनि गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले आन्दोलनबाट जन्मिएको प्रदेश भएकाले यो प्रदेशले सदैव जनताको पक्षमा रहेर काम गर्नुपर्ने धारणा राख्नुभयो। 

प्रमुख प्रतिपक्ष दलका नेता राजकुमार शर्माले कर्णाली अझै संविधानको मर्मअनुसार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो। सत्तारुढ दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले ‘कान्छो भन्नाले पछि परेको हैन, सबै हिसाबले अब्बल बन्नुपर्ने प्रदेश हो’ भन्दै एकताको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, मुख्यमन्त्री यामलाल कँडेलले साझा सहकार्य र समन्वयमार्फत् मात्रै कर्णालीलाई जनताले चाहेजस्तो बनाइने बताउनुभयो।