• ८ वैशाख २०८१, शनिबार

सहकार्य गर्न सक्ने शक्तिलाई साथ लिन्छौं : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिमा सहकार्य गर्न सक्ने शक्तिलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै उहाँले त्यस्तो बताउनुभयो । 

नेपाली राजनीतिको एउटा शक्ति एमाले भएको र त्यही बलमा समाजवादतर्फ मुलुक जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतिक्रियावादी मोर्चामा गएर समाजवाद निर्माण गर्न सकिन्छ भन्ने होइन, समाजवादको स्पष्ट गन्तव्य बनाएपछि पुग्न सकिने उहाँले बताउनुभयो । “स्पष्ट विचारमा अगाडि बढ्दा पो पुगिन्छ, त्यसर्थ, मोर्चाबाट होइन, पार्टीबाट समाजवादमा पुगिन्छ । मजबुत पार्टी निर्माण गरौं र विजयी बनौं, त्यसपछि सहयात्री खोजौं” उहाँले भन्नुभयो । 

पार्टीको नीति र नेतृत्वमा समाजवादमा अगाडि बढ्न सकिने बताउनुहुँदै उहाँले मोर्चा सहयोगी विषय भएको बताउनुभयो । “मोर्चा आन्दोलन विजयीका निम्ति सहयोगी हुन्छ तर, निर्णायक हुन सक्दैन” अध्यक्ष ओलीले भन्नुभयो । वैचारिक स्पष्टता एमालेमा मात्र भएको दाबी गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा कुनै दुविधा नरहेको बताउनुभयो ।