• २९ फागुन २०८२, शुक्रबार

दादुरा रोगबाट सतर्क रहन निसीखोलाको आग्रह

blog

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाको आफ्नै प्रशासकिय भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २९ गते ।
ढोरपाटनमा फैलिएको दादुरा रोगमा छिमेकी पालिकाले समेत सचेतना अपनाउन थालेका छन् । निसीखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय र स्वास्थ्य संस्थालाई दादुरा रोगको सम्भावित जोखिमबारे सतर्क रहन गाउँबासीलाई आग्रह गरिएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पुन मगरले बताउनुभयो ।

ढोरपाटन नगरपालिकामा दादुरा रोगको प्रकोप देखिएकाले निसिखोलामा समेत रोग फैलन सक्ने भन्दै अभिभावक तथा विद्यार्थीलाई सचेत रहन आग्रह गरिएको छ ।

दादुरा रोगको सम्भावित फैलावटलाई नियन्त्रण गर्न विशेष सतर्कता अपनाउन आग्रह गर्दै शङ्कास्पद देखिएमा तुरुन्तै अस्पताल जान आग्रह गरिएको पुनले बताउनभयो ।

निसीखोला गाउँपालिकाअन्तर्गत रहेका सबै स्वास्थ्य संस्था तथा प्राथमिक, आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा दादुराका लक्षण देखिएमा तुरुन्त गाउँपालिकामा समेत खबर गर्न भनिएको छ ।

दादुरा रोगका मुख्य लक्षणहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, आँखा रातो हुने तथा शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखामा तत्काल जानकारी दिन गाउँपालिकाले अनुरोध गरेको छ ।