भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), फागुन २९ गते । कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले यस क्षेत्रका जनताको समस्या सदनमा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि पछिल्लो समय जनताका समस्या सुन्न टोल, बस्तीमा भेटघाटमा व्यस्त प्रतिनिधि समा सदस्य धामीले गोरखापत्रसँग कुरा गर्दै यहाँका समस्या समाधानका लागि सदनमा आवाज बुलन्द गर्ने बताउनुभयो । सांसद धामीले क्षेत्र–१ मा रानाथारू समुदायको छुट्टै पहिचान सूचीकृतका लागि पहल गर्ने, भन्सार, सीमा समस्या समाधान, बेलौरी कलुवार सडक शीघ्र निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै बर्सौंदेखिको डुबान समस्या समाधान गर्न चौधर, स्याली, मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो । युवा बेरोजगारीको समस्या समाधान गर्न युवामैत्री रोजगारका कार्यक्रम ल्याइने बताउनुहुँदै उहाँले शपथग्रहण गरेलगत्तै सुकुमवासी, शुक्लाफाँटा आरक्षपीडित, भूमिहीनका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०२७ पुस २५ गते दार्चुलाको हालको शैल्यशिखर नगरपालिका–६ मा बुवा लक्ष्मणसिंह धामी तथा आमा हरमति धामीको कोखबाट जन्मनुभएका धामी सानै उमेरदेखि सामाजिक कार्यमा अग्रसर रहँदै आउनुभएको थियो । २०४२ सालमा परिवारसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका–४ झर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय धामीले राजनीतिसँगै जीविकोपार्जनका लागि शिक्षण पेसा पनि अपनाउनुभयो । नेता धामी विसं २०४२ मा कक्षा १० मा अध्ययन गर्दादेखि नै नेपाली कांग्रेस पार्टीमा आबद्ध हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनमा हिरासतमा बस्नुभएका उहाँ नेपाल विद्यार्थी सङ्घको सिद्धनाथ बहुमुखी क्याम्पसको एकाइ अध्यक्ष हुँदै कांग्रेस पार्टीको क्षेत्रीय सभापति, जिल्ला सदस्य भएर कांग्रेसको महाधिवेशन प्रतिनिधिको भूमिकाको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।
राजनीतिसँगै करिब चार वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँ वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानुभएको थियो । दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका उहाँ स्वदेशमै केही गर्ने मनसाय बनाएर स्वदेश फर्किएपछि पुनर्वासमा केरा खेती र समाज सेवा गर्दै आउनुभएको छ । धामीले विसं २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । रास्वपा अभियान तथा प्रचार विभागका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बन्नुभएको थियो । गत २१ गतेको निर्वाचनमा २४ हजार ३३२ को फराकिलो मतसहित विजयी हुनुभएका उहाँ जनताको समस्या बुझ्न गाउँबस्तीमा देखिँदै आउनुभएको छ । धामीको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी तथा आमा हुनुहुन्छ ।