• ४ भदौ २०८२, बुधबार

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्यो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ४ गते । आपराधिक गतिविधि नियन्त्रणका लागि गृह प्रशासनले सक्रियता बढाएको छ ।  विगतमा गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न तथा शङ्कास्पद व्यक्ति र समूहमाथि प्रहरीले सुरु गरेको कोभर्ड (गोप्य) र ओभर्ड (गस्ती तथा जाँच) अपरेसनमा हालसम्मकै धेरै अभियुक्त र आरोपित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले गुन्डागर्दी तथा अन्य अपराधमा संलग्न राजु गोर्खाली भनिने (राजेन्द्रबहादुर गोर्खाली), मिलन चक्रे भनिने (मिलन गुरुङ) लगायतलाई कानुनी दायरमा ल्याई अनुसन्धान गरिरहेको छ । त्यसै गरी पछिल्लो एक वर्षमा भएका ३० वटा मुख्य घटनाका सबै आरोपितलाई कानुनी दायरामा ल्याउन पनि परिसर सफल भएको छ । 

परिसरका प्रमुख विश्व अधिकारीले जुनसुकै प्रकारका आपराधिक गतिविधि र त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउने गरी थप सक्रियता बढाइएको बताउनुभयो । उहाँले विगतमा आपराधिक पृष्ठभूमिका व्यक्ति र समूहले विभिन्न आवरणमा समाजलाई नै आतङ्कित पार्ने, अभद्र व्यवहार प्रस्तुत गरी शान्ति सुरक्षामा नै असर पु¥याउने गरी गतिविधि गर्न सक्ने भएकाले निगरानी बढाउनु परेको बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “विगतमा जस्तो समाजलाई आतङ्कित पार्ने गरी कुनै पनि समूहले पुनः त्यस्ता गतिविधि नै गर्न सक्ने अवस्था त छैन तर त्यस्ता समूहले अप्रत्यक्ष रूपमा आपराधिक गतिविधि गर्न सक्ने भएकाले हामीले निगरानी बढाएका छौँ ।” उहाँले विगतमा आपराधिक पृष्ठभूमिका व्यक्तिका अदृश्य शैली कुनै न कुनै रूपमा समाजलाई नै आतङ्कित पार्ने र सुरक्षालाई नै चुनौती दिने खालका देखिए कानुनी दायरामा ल्याइने पनि बताउनुभयो । 

हालसम्मकै धेरै पक्राउ 

जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ५८५ जना फरार अभियुक्त पक्राउ गर्दै फैसला कार्यान्वयनमा नयाँ रेकर्ड कायम गरेको छ । यो सङ्ख्या देशभरि पक्राउ परेकामध्ये २५ प्रतिशतभन्दा बढी हो । देशको सङ्घीय राजधानी र धेरै बसोबास भएकाले कतिपय आरोपित काठमाडौँ उपत्यकामा गोप्य रूपमा लुकिछिपी बस्ने गरेको पाइएको छ ।  

फरार अभियुक्त पक्राउ ६५ प्रतिशतले वृद्धि

गृह प्रशासनले सुरु गरेको नीतिगत र कानुनी सुधारसँगै फैसला कार्यान्वयनमा पनि सफलता हासिल भएको छ । पछिल्लो एक वर्षमा मात्र मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिबाना सजाय पाएर फरार रहेका २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो आव २०८०/८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त पक्राउ परेका थिए ।