पेरिस, भदौ ३ गते । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबिचको शान्ति शिखर सम्मेलन आयोजना गर्नसक्ने सुझाव दिनुभएको छ ।
सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिनुभएको थियो । फ्रान्सेली समाचार च्यानल ‘एलसीआई’ मा मङ्गलबार प्रसारित अन्तर्वार्तामा म्याक्रोनले भन्नुभयो, “यो कुनै तटस्थ देशद्वारा आयोजना हुने छ, सायद स्विट्जरल्याण्ड-म जेनेभाका लागि दबाब दिइरहेको छु–वा अर्को देश ।”
“पछिल्लो पटक द्विपक्षीय वार्ता इस्तानबुलमा भएका थिए”, उहाँले मे र जुलाईमा टर्कीमा रुस र युक्रेनबीच भएको तीन चरणको तल्लो स्तरीय वार्तालाई स्मरण गर्दै भन्नुभयो । म्याक्रोनका अनुसार फ्रान्स र बेलायतले मङ्गलबार अन्य युक्रेनी सहयोगीहरूसँग वासिङ्टनमा बैठक गर्ने छन् । बैठकको उद्देश्य युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे अद्यावधिक रहनु हो । यो विषय ट्रम्पसँगको भेटघाटको मुख्य एजेन्डा हो ।
“त्यसपछि हामी अमेरिकीहरूसँग ठोस काम सुरु गर्ने छौँ । भोलिसम्म हाम्रा कूटनीतिक सल्लाहकारहरू, मन्त्रीहरू र कर्मचारी प्रमुखहरूले के गर्न तयार छन् भनेर काम सुरु गर्ने छन्”, म्याक्रोनले भन्नुभयो । जेलेन्स्कीले रुसलाई क्षेत्र छोड्न बाध्य पार्नेबारे उठेको प्रश्नमा म्याक्रोनले भन्नुभयो, “यो युक्रेनमा निर्भर छ । युक्रेनले आफूले उचित र सही ठानेमा सम्झौता गर्ने छ ।” तर उहाँले भन्नुभयो, “हामी कानूनी मान्यताको विषयमा धेरै सावधान हुनुपर्छ । यदि देशले ‘हामी बलपूर्वक क्षेत्र लिन सक्छौँ’ भन्न थाल्छन् भने त्यसले प्यान्डोराको बक्स खोलिदिन्छ ।” रासस/एएफपी