रामकृष्ण बोहरा
बागलुङ, भदौ ३ गते । रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रणस्मृति पुरस्कार २०८२ प्रदान गरेको छ । सरुलाई दस हजार रूपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
मध्यनेपाल नगरपालिका-३, सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता सङ्ग्रह), फूलहरूको आँधी (कविता सङ्ग्रह), किट्टी (बालकथा सङ्ग्रह) प्रकाशित छन् ।
कार्यक्रममा बोल्दै साहित्यकार काजी रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेकाले उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा रुद्रेपिपल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा, निमित्त प्रधानाध्यापक सीता नेपाली लगायतले साहित्यकार सरुको साहित्य यात्राको सफलताको कामना गर्नुभएको थियो ।