• ३ भदौ २०८२, मङ्गलबार

गण्डकी प्रदेशसभा भवन शिलान्यास

blog

पोखरा–३ मा बन्दै गरेको गण्डकी प्रदेशसभा भवन शिलान्यास गर्नु हुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ३ गते । गण्डकी प्रदेशसभाको नयाँ भवन शिलान्यास भएको छ । मङ्गलबार बिहान भएको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन शिलान्यास गर्नुभएको हो । 

पोखरा महानगरपालिका ३ नदीपुरमा अहिलेको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपियाँ लागतमा सुविधा सम्पन्न प्रदेशसभा भवन बन्दै छ । डिपिआर अनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपियाँ रहेकोमा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले यसको ठेक्का पाएको छ । 

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले दुई वर्षभित्रै भवन सम्पन्न गर्न आग्रह गर्नुभयो । “हाम्रो कार्यकालभित्रै सम्पन्न गरिदिनुस्, केही समय नयाँ भवनमा सदन चलाउन पाइयोस्,” उहाँले भन्नुभयो ।

नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णाेद्वार गरी अहिले प्रदेशसभाको अस्थायी कार्यालय बनाइएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम भवन निर्माण हुँदै छ ।

श्रेष्ठ एन्ड सन्स-इस्ट वेस्ट जेभी काठमाडौंसँग २०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएकोमा अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरु सकिएका छन् । गत वर्षको माघमा ठेक्का लागे पनि ठेक्का प्रक्रिया र नक्सापासका कारण ढिलाइ भएको छ । 

भवनको भुइँ तलामा एक हजार आठ सय छयालिस वर्गमिटर, पहिलो तला एक हजार चार सय छयानब्बे र दोस्रो तला सात सय उनान्चालिस वर्गमिटरका हुनेछन् । नयाँ प्रदेश सभाको भुइँ तलामा सभामुख, प्रदेशसभा सचिवालय, उपसभामुख, विषयगत समिति लगायतका कार्यालय रहनेछन् । पहिलो तलामा सय जना जति अट्ने हल बनाइनेछ । 

दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने सानो हलसमेत बन्नेछ ।

सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीका सिडिई ओमराज ढुङ्गानाले दसैंअघि ग्राउन्ड ढलान गर्ने र आउँदो माघ महिनासम्म पहिलो तला ढलान गरिसक्ने कार्ययोजना निर्माण कम्पनीले पेश गरेको जानकारी दिनुभयो ।  यो वर्ष पनि भवनका लागि नौ करोड बजेट छ ।