• १६ चैत २०८०, शुक्रबार

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

blog

काठमाडौं, असार १० गते । नेपालको दोस्राे ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ ।

विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ ।”