• १३ साउन २०८१, आइतबार

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

blog

संयुक्त राष्ट्रसङ्घ, असार १० गते । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । 

राष्ट्रसंङ्का महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ताकपडा उपलब्ध गराएको बताइएको छ ।

त्यसैगरी, विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको  प्रवक्ता डुजारिकले जानकारी दिनुभयो ।

अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ । 

अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन् । 

भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो । घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् । 

तालिबान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।