• ५ वैशाख २०८३, शनिबार

मुस्ताङ भन्सारबाट १२ अर्ब २२ करोडको वस्तु आयात

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित भन्सार कार्यालय ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), वैशाख ३ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १२ अर्ब २२ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । 

घरायसी र मुस्ताङमा घुम्न जाने पर्यटकलाई लक्षित गरी सामान आयात गर्ने गरिएको भन्सार कार्यालयले गत वर्ष २०८२ सालको भदौ महिनाको ३० गतेदेखि वयावसायिक रूपमा सञ्चालन गरेको अवधिमा १२ अर्ब २२ करोड ७६ लाख बराबरको सामान आयात गरेको थियो । 

सो अवधिमा २० करोड ५५ लाख बराबरको निर्यात गरी ५ अर्ब ७३ करोड ६१ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो । कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘‘हिमपात र चिनियाँ चाडपर्वले निकासी पैठारीमा केही असर गरेको थियो, भन्सारमा आएको सामानको जाँचपासलाई प्राथमिकता दिएका छौं ।’’ 

चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला)बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरू विगतका तुलनामा भन्सारमा कम आएका छन् । 

रसुवा र तातोपानी भन्सार कार्यालय सञ्चालनमा आएसँगै ढुवानीका लागि छोटो रुट हुने व्यापारीले उक्त नाका प्रयोग गर्न थालेपछि कोरला नाकाको चहलपहलमा केही कमी आएको छ । 

१८ सय १८ कन्टेनरबाट विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरणसहित कपडा, जुत्ता लगायतका सामान आयात भएकोमा एकसय ३७ कन्टेनरमा नेपालबाट निर्यातमा हस्तकला सामग्री, कपडा लगायतका सामान तिब्वत निर्यात भएको छ । 

हालसम्म कोरला नाकाबाट २३ सय ४७ विद्युतीय सवारी साधन प्रवेश गरेका छन् । एक महिनाको अवधिमा एउटा पनि विद्युतीय सवारी साधन भित्रिएको छैन । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै पोखरा लैजाने गरिन्छ । 

जाडो घटेपछि कोरला नाकामा व्यापार गर्न तथा सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र स्थानीय व्यापारीको समेत चहलपहल बढ्न थालेको छ । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो ।