• १३ साउन २०८१, आइतबार

विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै

blog

मोरङ, असार १० गते । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ ।

हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुखसहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवम् प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ ।

चालु आर्थिक वर्षभन्दा झण्डै रु. एक अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितले जानकारी दिनुभयो । चालु आवका लागि रु. चार अर्ब ६० करोड ८१ लाखको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ ।

महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र  बजेटमार्फत् करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेण्डा’ बनाउनुभएको थियो । पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।