शङ्कर केसी
सल्यान, भदौ १ गते । कर्णाली प्रदेश भौगोलिक विविधतासँगै धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ । पर्यटनको खानीको रुपमा रहेको कर्णालीमा साहसिक पर्यटनका लागि धेरै गन्तव्यहरु छन् ।
जसमध्ये सल्यानमा अवस्थित कुमाख लेक पनि एक हो । समुद्री सतहदेखि दुई हजार ५३७ मिटर उचाइमा रहेको सल्यान जिल्लाको दोस्राे अग्लो लेक कुमाख पुग्ने पर्यटकहरुले प्राकृतिक सुन्दरता, धार्मिक आस्था र साहसिक यात्रालाई एकैसाथ अनुभव गर्ने गर्दछन् ।
कुमाख लेकसम्म पुग्नका लागि कुमाख गाउँपालिका तथा सिद्ध कुमाख गाउँपालिकाका विभिन्न गाउँहरुबाट जान सकिन्छ । कुमाख, ७ र सिद्धकुमाख २ को सिमाना लाकुरीबोटबाट तथा कुमाख, ३ को चिनाली, सेरिपाटाबाट पनि कुमाखको चुचुरोसम्म पुग्न सकिने र अर्काे गाउँपालिका सिद्धकुमाखको वडा नं २ स्थित टाकुरा र फलेखर्कबाट पनि उकालो चढेर कुमाखको लेकमा जान सकिने स्थानीय हरिहर बुढाथोकी बताउनुहुन्छ ।
कर्णाली प्रदेशकै गौरव, इतिहास र शानको रुपमा रहेको कुमाख लेक धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । कुमाख लेकलाई प्रसङ्ग बनाएर सल्यानका गाउँबस्तीहरूमा गीतका भाकाहरू गाउने गरिन्छ ।
कुमाखको यात्रा गर्दा पहिला रमणीय वनजंगल र भीरपाखाहरु पार गर्नुपर्ने हुन्छ । नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावतले कुमाख पुग्दा देखिने हरियाली, चराचुरुङ्गीको मधुर आवाज र शुद्ध हावाले जो कोहीलाई पनि शान्ति प्रदान गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घना जङ्गल, चट्टान तथा पाखापखेरी पार गर्दै उकालो चढ्दा साहसिक अनुभूति हुन्छ । बाटो कहिलेकाहीँ साँघुरो, कहिलेकाहीँ खुला मैदान हुँदै जान्छ । यहाँ प्रकृतिको विविध रूप देख्न सकिन्छ ।” केही दिन अघिमात्रै सिद्ध कुमाख २ बाट करिव ३ घण्टा उकालो हिंडेर कुमाख लेकसम्म पुग्नुभएका गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खडग शाहीले चुचुरोमा पुगेपछि सबै थकाई मेटिने बताउनुभयो ।
“कुमाखको चुचुरोबाट देखिने दृश्यले सबै थकान हराइदिन्छ”, उहाँले भन्नुभयो, “वरिपरिको पर्वतीय शृङ्खला, टाढाटाढासम्म फैलिएको हरियाली, तलतिर रहेका सुन्दर बस्तीहरु र फैलिएको नीलो आकाशको दृश्यले स्वर्गीय महसुस गराउँछ ।”धार्मिक दृष्टिले पनि महत्वपूर्ण स्थलको रुपमा रहेको कुमाख लेकको टाकुराको मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ । कुमाख ७ का स्थानीय तथा गैरसरकारी संस्था महासङ्घ सल्यानका निवर्तमान अध्यक्ष दीपेन्द्र शाहीका अनुसार यहाँ पुगेर सिद्ध कुमाखी देवताको पूजा गर्ने परम्परा छ । स्थानीयहरूको विश्वास अनुसार यहाँ पूजा गर्दा इच्छापूर्ति हुन्छ ।
कुमाखमा बर्सेनि हजारौं भक्तजन पुग्ने गर्दछन् । मन्दिरका पुजारी खिमलाल डाँगीका अनुसार यहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गर्दछ । यो मेलामा सल्यानका विभिन्न क्षेत्र र छिमेकी जिल्लाबाट पनि श्रद्धालुहरू आउने गर्दछन् ।
धार्मिक आस्थासँगै कुमाख लेकसम्मको यात्रा साहसिक पर्यटनका लागि उपयुक्त मानिन्छ । प्राकृतिक बाटो केही चुनौतीपूर्ण त छ । तर यसले ट्रेकिङको अनुभव दिन्छ । धार्मीक तथा सांस्कृतिक पक्षसँग परिचित हुन सकिने र ग्रामीण जीवनशैली एवं स्थानीय आतिथ्यसमेत अनुभव गर्न सकिने भएकाले कुमाखको यात्रा महत्वपूर्ण मानिन्छ । कुमाख क्षेत्र प्राकृतिक स्रोत साधनले पनि भरिपूर्ण छ। यहाँ पाइने बहुमूल्य जडीबुटीहरू, विविध वनस्पति र वन्यजन्तुले यसको जैविक विविधता झल्काउँछन् ।
पछिल्लो पटक कुमाख लेकसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ अनुदान र स्थानीयहरूको श्रमदानसहित करिब १८ लाख रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । भर्खरै सकिएको आर्थिक वर्ष २०८१।०८२ मा पदमार्ग, सिँढी र त्यहाँ रहेको मन्दिरमा दुई वटा ढोका निर्माण गरिएको छ । मुख्य मार्ग लाकुरीबोटबाट कुमाख लेकमा पुग्नका लागि पदमार्ग बनाइएको हो ।
स्थानीयका अनुसार कुमाखको फेददेखि लेकसम्मको यात्रा लामो समयदेखि जोखिमयुक्त थियो । भक्तजन र पर्यटकहरूले पुरानो गोरेटो बाटो प्रयोग गरेर लेकसम्म पुग्ने गर्थे । पदमार्ग निर्माण सँगै धेरै सहजता थपिएको स्थानीयको भनाइ छ । कुमाख टाउरामा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव मोहन डिसीले चट्टान फोडेर पदमार्ग बनाइएको भन्दै लाकुरीबोट क्षेत्रबाट अब पहिलेजस्तो जोखिम नरहेको बताउनुभयो ।