प्रेमराज सिम्खडा
कालीकोट, भदौ १ गते । गत असारयता कर्णाली राजमार्ग २१ पटक अवरुद्ध भएको छ । असार महिनामा सामान्य पानी पर्दा पनि पहिरोले कर्णाली राजमार्गको कालीकोट खण्डको गाल्जेमा एक पटक, लालु खुलालुमा एक पटक, हुल्ममा पाँच पटक पहिरोले सडक अवरुद्ध भएको छ भने साउन लागेयता हुल्ममा छ पटक, ताडीमा एक पटक, मोल्फा बिहानीमा छ पटक र गाल्जेमा एक पटक गरी १४ पटक गरी २१ पटक अवरुद्ध भएको छ ।
असार र साउनमा गगनेखोलामा २१ पटक पहिरोले सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले गगनेखोलाले निकै दुःख दिएको बताउनुभयो । यस वर्ष मात्र होइन, प्रत्येक वर्ष गगनेखोलाले यात्रुलाई सास्ती दिने गरेको छ । पानी पर्नेबित्तिकै लेदोसहितको पहिरो झरिहाल्छ । पहिरो झर्ने र दुर्घटना बढी हुने भएकाले कर्णाली राजमार्गमा राति यात्रा गर्न प्रतिबन्ध गरिएको छ । सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दुरी जम्मा १५१ किलोमिटर छ । त्यसभन्दामाथि जुम्ला बजारसम्म ८२ गरी कुल २३२ किमी लम्बाइको कर्णाली राजमार्ग सडकको अवस्था राम्रो भए आठ/नौ घण्टामै पुगिने हो तर जीर्ण र साँघुरो सडकका कारण असार लागेपछि ठाउँ ठाउँको पहिरोले साबिकको कर्णालीका कालीकोट, जुम्ला, मुगु र हुम्ला पुग्ने नागरिकले सास्ती पाउने गरेका छन् । कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्नुभयो, “सानोतिनो पानी पर्नेबित्तिकै सडक अवरुद्ध भइहाल्छ, असार लागेपछि प्रहरीलाई पहिरोको सूचना आदानप्रदान गर्न र सडक खुलाउनै ठिक्क भएको छ ।”
सुर्खेतबाट कतै नरोकिएका गाडी प्रत्येक वर्ष वर्षा सुरु भएपछि कालीकोटको शुभकालिका–१, गगनेखोलामा रोकिएर यात्रुलाई सास्ती हुने गरेको छ । बर्सेनि ठेक्का हुने गरे पनि गुणस्तरको काम नहुँदा पानी पर्नेबित्तिकै पहिरोले सडक अवरुद्ध हुने हुँदा नागरिकले दुःख पाउँदै आएका छन् ।
विसं २०७८ को असोजमा भएको बेमौसमी वर्षाले क्षतविक्षत गरेको कर्णाली राजमार्गको सुधारका लागि सरकारले कर्णाली राजमार्गको केही ठाउँमा चौडा गरे पनि गगनेखोलोमा तीन करोड रुपियाँको ठेक्काबाट लगाइएको ग्याबिन जालीसहितको पर्खाल गत वर्ष पहिरोले बगाएपछि सडकको अवस्था उस्तै बनेको छ । यहीँको पहिरो रोकथामका लागि सडक विभागले बेला बेलामा विज्ञ ल्याएर स्थलगत अनुगमन गरेर रिपोर्ट बनाए पनि काम के भयो भन्ने यहाँका नागरिकलाई थाहा छैन । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घाम लागे धुलो, पानी परे हिलो हुने कर्णाली राजमार्गको गगनेखोलाको पहिरोले सधैँ यात्रुलाई सास्ती दिने गरेको बताउनुभयो । पहिरो रोकथामका लागि सडक डिभिजन कार्यालय जुम्लालाई बेला बेलामा पत्राचार र टेलिफोनबाट खबर गरेको उहाँको भनाइ छ । कर्णाली राजमार्गको गगनेखोला, जिते, बिहानीलगायतका ठाउँमा पहिरो झरिरहने समस्या रहेकाले सडक डिभिजन कार्यालय जुम्लाले तीन वटा मेसिन कालीकोट खण्डमा मात्र तयारी अवस्थामा राखेको छ ।
कर्णाली राजमार्गका ठाउँ ठाउँमा गएको पहिरो सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले हटाए पनि सधैँ जसो झरिरहने गगनेको पहिरोले यात्रुले सास्ती खेप्नु परेको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ । कर्णाली राजमार्गको पादुका, दैखोला, कालेखोला, हुल्म, सेरीघाट, सुनारखोला, ताडी, पिली, टिमुरे भिरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको चालकको गुनासो छ । सडकको स्तरोन्नतिमा सडक विभागमार्फत सरकारले गत आर्थिक वर्ष मात्र सुर्खेत–जुम्ला सडकमा ३२ करोड रुपियाँ खर्च गरेको थियो भने स्थानीय तहले वार्षिक पाँच/छ करोड रुपियाँ सडकमै खर्च गरिरहेका छन् ।