• २ भदौ २०८२, सोमबार

हुलाकी सडक निर्माणमा ढिलाइ , ठेकेदारलाई सोधियो स्पष्टीकरण

blog

फाइल तस्बिर

सचिन पाख्रेल

इटहरी, भदौ १ गते । हुलाकी राजमार्गका विभिन्न खण्डमा सम्झौता अनुसार काम नगरेको भन्दै सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कार्यालयले मोरङको कटहरी–रामचोक–हाटखोलामा पर्ने छ किलोमिटर, सुनसरीको इनरुवा–कप्नानगन्ज २२ किलोमिटर र सप्तरीको बारदह–बलान २० किलोमिटर सडक निर्माणमा ढिलाइ भएको भन्दै ठेकेदारलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको हो ।

योजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का सम्झौता किन रद्द नगर्ने भन्ने विषयमा स्पष्टीकरण सोधिएको हो । सम्झौता अनुसार कार्यसम्पादनको प्रगति न्यून देखिएको भन्दै श्रेष्ठ कन्स्ट्रक्सन प्रालि (हेटौँडा), गौरी पार्वती–देव र श्यारभूमि जेभी (विराटनगर) तथा शर्मा–बन्जरा–लोहनी र ब्रदर्स जेभी (ललितपुर) लाई पत्र पठाइएको हो ।

प्रदेश सभा र सङ्घीय संसद् दुवैमा मोरङको कटहरी खण्डको निर्माण अलपत्र परेको विषयमा पटक पटक आवाज उठ्दै आएको छ । सङ्घीय सांसद अमनलाल मोदीले काम तत्काल सुचारु नभए संसद्भित्रै अनसन बस्ने चेतावनी दिनुभएको थियो । त्यस्तै प्रदेश सभा सदस्य भीम पराजुलीले समेत केही दिनअघि यसै विषयमा चेतावनी दिनुभएको थियो ।

ठेक्का सम्झौता अनुसार १५ दिनभित्र काम नहुँदा ठेक्का तोडिने सर्तलाई ठेकेदार पक्षले स्वीकार गरेको प्रमुख पोखरेलले बताउनुभयो । सहमति अनुसार तत्काल दुई वटा रोलर, दुई वटा ग्रेडर, सातदेखि १० वटा टिप्पर र आवश्यक कामदार परिचालन गरिने छ । यस अवधिमा बिचको बाटो सहज रूपमा दुईतर्फी सवारी सञ्चालन हुने गरी निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । कटहरीको रामचोकदेखि हाटखोलासम्मको छ किलोमिटर भागमा छ वर्षदेखि सुस्त गतिमा काम हुँदै आएको छ । हालसम्म आर्थिक तथा भौतिक प्रगति मात्र २३ प्रतिशत पुगेको छ ।