• २ भदौ २०८२, सोमबार

छ वर्षदेखि शव चिरेर सिलाउँदै मरिक

blog

हरिप्रसाद कोइराला  

उर्लाबारी, भदौ १ गते  । सुनसरीको गढी गाउँपालिका–२ का २२ वर्षीय सन्तोष मरिकले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको मुर्दाघरमा शव चिरेर सिलाउन थालेको छ वर्ष भयो । २०७६ सालमा काम सुरु गर्दा सन्तोष १६ वर्षको मात्रै हुनुहुन्थ्यो । 

औसत मानिस मृत्युका सामान्य घटनासँग पनि डराउँछन् तर सन्तोषले अकालमा मरेका मानिसको शवमा छुरा लगाएर चिर्ने अनि सियोधागोले सिलाउने असाधारण काम गरेर घर चलाउनुहुन्छ । त्यो पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा । 

सन्तोष सानै छँदा बुवा बित्नुभयो । पाँच भाइ छोराले घरमा पेटभरि दुई छाक खान पाउने अवस्था थिएन । सन्तोषका दुई दाजु र दुई भाइ हुनुहुन्छ । अभावमा बाँच्न नसकेपछि सन्तोष ११ वर्षको छँदा घरबाट निस्किनुभयो । कहिले मेची अस्पतालमा त कहिले आम्दामा सरसफाइको काम गर्नुभयो । नयाँ सम्भावनाको खोजीमा काठमाडौँ पुग्नुभयो ओठमाथि जुँगाको रेखीसम्म नबसेको उहाँलाई कसैले पत्याएन, कतै दिगो काम भेट्नुभएन ।

२०७६ सालमा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र (हालको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर) मा पोस्टमार्टमको काम गर्ने कामदार आवश्यक भयो । 

त्यसैबेला आफ्नै मामाको सम्पर्कबाट सन्तोष मङ्गलबारे आइपुग्नुभयो । १६ वर्षको कलिलो केटालाई काममा लगाउनुहुन्न, डराउँछ भन्ने जस्ता अनेक अड्कल भए । साहसी सन्तोषले मुर्दाघरमा काम गर्ने निर्णय गर्नुभयो । मरिक (डोम) हरूको परम्परागत पेसा सरसफाइ हो । सन्तोष जातले मरिक भए पनि मदिरा पान नखाई शव चिरेर सहजै सिलाउनुहुन्छ । कोही पनि मानिस अकालमा मरेकै दिन पोस्टमार्टम बिरलै हुन्छ । मरेको दुई÷तीन दिनसम्म शव सहजै चिर्न सकिन्छ तर किरा परेको, हाडछाला छुट्टिएको, पहिचान नभएको शव पोस्टमार्टम गर्न असहज हुन्छ । सन्तोष भन्नुहुन्छ, “आफ्नो कर्म अनुुसारको जिम्मेवारी भगवान्ले नै तोकेर पठाउनुभएको हुन्छ अरे । सुरुका दिनमा अलि असहज भए पनि अचेल वास्तै लाग्दैन ।”

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा यस्तो असाधारण काम गरेर जीविकोपार्जन गर्ने सन्तोष मात्र हुनुहुन्न । प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेको सेवा अस्पतालमा विस्तार भएपछि दुई जनाले काम गर्न थाल्नुभएको छ । उहाँलाई विनोद मरिकले साथ दिनुहुन्छ तर विनोद ४६ वर्षको भइसक्नुभएको छ । 

अस्पतालले दुई जनालाई एक÷एक महिना शव चिर्ने र सिलाउने गरी कामको पालो लगाइदिएको छ । पालो परेको बेला मुर्दाघरमा काम गर्ने सन्तोष र विनोद अरू समय अस्पतालमै सरसफाइको काम गर्नुहुन्छ । सन्तोषले भन्नुभयो, “अरू अस्पतालमा २५ हजार रुपियाँसम्म तलब दिएको बुझेको छु । हामीलाई काम अनुसार तलब थोरै छ तर हाम्रो आवाज कसले बोलिदिने, कसले सुनिदिने ।” 

अस्पतालका सूचना अधिकारी नीराजन पौडेलका अनुसार ट्रमा सेन्टरमा मोरङका उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे, लेटाङ नगरपालिका र मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा अकालमा मरेका मानिसको पोस्टमार्टम हुँदै आएको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा १८५ जनाको पोस्टमार्टम भएको थियो । यसअघि दमक, बेलबारी र इलामदेखि पोस्टमार्टम ‘केश’ आउने गर्थे । हाल दमकमा पनि यो सेवा सुरु भएपछि पोस्टमार्टमका ‘केस’ घट्नुपर्ने हो तर तुलनात्मक रूपमा घटेको छैन । अघिल्लो आव २०८०/८१ मा २०३ जनाको पोस्टमार्टम भएको थियो भने आव २०७९÷८० मा १९८ जनाको पोस्टमार्टम भएको थियो ।