• ५ जेठ २०८१, शनिबार

रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै

blog

रोल्पा, असार १० गते । रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । 

यसरी दायर भएका २२७ मुद्दा फर्स्याैट हुँदा ९५ फर्स्याैट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, बिहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।    

गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा  १५६ वटा फर्स्याैट  भएका छन् । सो अवधिका ७० मुद्दा फर्स्याैट हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फर्स्याैटभएका थिए ।  

सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिनुभयो । “विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो । 

अंश दाबीबिना सम्बन्धविच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताउनुभयो ।  

सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयाेग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत छ । 

महिला अघिकारकर्मी तीर्था आचार्य भन्नुहुन्छ, “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।”  सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ ।  सम्पत्ति माग दाबीसहित  गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो  हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताउनुभयो । सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ ।