• २ भदौ २०८२, सोमबार

सलहेसले जित्यो गोल्डकप उपाधि

blog

ट्रफीका साथ उपाधि विजेता सलहेस युवा क्लब सिराहाका खेलाडी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक/साहारा लिम्बू

ताप्लेजुङ, साउन ३१ गते। मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहाले शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चर्च ब्वाइज क्लब ललितपुरलाई २० गोलले पराजित गर्दै सलहेसले उपाधि जितेको हो।

उपाधि जितसँगै सलहेसले सात लाख दुई हजार ८२ रुपियाँ नगद राशिको पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। सलहेसको जितका लागि सुनिल खड्का र विदेशी मुलका खेलाडी युसुफ मलिकले एकएक गोल गर्नुभएको थियो। सलहेस युवा क्लब गतवर्षको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा उपविजेता बनेको थियो।

तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा उपविजेता बनेको चर्च ब्वाइज क्लबले तीन लाख ५० हजार ८२ रुपियाँ नगद पुरस्कारका साथै ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ। फाइनल खेलमा गोल फर्काउने अधिक प्रयास गरे पनि असफल हुँदै चर्च ब्वाइजले उपविजेतामै सीमित हुनुपर्‍यो।

यसअघि प्रतियोगिताको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई पराजित गर्दै सलहेस युवा क्लब र द योङ ब्रदर्स क्लब इटहरीलाई पराजित गर्दै चर्च ब्वाइज क्लब फाइनलमा पुगेका थिए। यसैबिच प्रतियोगितामा सलहेस युवा क्लबका छिरिङ गुरुङ सबोत्कृष्ट खेलाडी बन्नुभयो। सर्बोत्कृष्ट खेलाडी बन्नुभएका गुरुङले १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभयो।

फाइनल खेलमासलहेसकै सुनिल खड्का म्यान अफ द म्याच घोषित हुँदै सात हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। त्यस्तै सलहेसकै रेन्बो चौधरी उत्कृष्ट गोलरक्षक बन्नुभयो। चर्च ब्वाइजका आविस्कार खड्का उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजकै युवराज ढकाल र आकास राई क्रमशः उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फर्वाड बन्नुभयो।

त्यसैगरी आयोजक टोलीका तर्फबाट सहभागी तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङका सुहाङ लिम्बूले राइजिङ अवार्ड (उदयमान खेलाडीको सम्मान) पाउनुभएको छ। प्रतियोगितामा उत्कष्ट कोच भने सलहेस युवा क्लबका राजिवकुमार यादव बन्नुभयो। यसरी विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडी तथा कोचले ट्रफीसहित जनही १५ हजार रुपियाँका दरले नगद पुरस्कार पाउनुभएको छ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम लगायतले पुरस्कार राशि, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा खेलाइने गरिएको प्रतियोगिताअन्तर्गत यसवर्ष अन्तर्राष्ट्रिय पाहुना टोली भारत, सिलिगुढीको लिजेन्ट फुटबल एकेडेमीसहित आठ टोली सहभागी भएका थिए।

सिलिगुढीबाहेक प्रतियोगितामा विजेता र उपविजेता टोली, आयोजकका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब, फिदिम स्पोर्टिङ क्लब पाँचथर, साहारा क्लब पोखरा, द योङ ब्रदर्स क्लब इटहरी र रेड स्टार फुटबल क्लब झापा रहेका थिए। यसवर्ष प्रतियोगिता गत साउन २४ गतेदेखि सुरु गरी शनिबार सम्पन्न गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।