• २ भदौ २०८२, सोमबार

विद्यार्थी र किसानलाई बिरुवा वितरण

blog

जैमिनीका किसान र विद्यार्थीलाई बिरुवा वितरण गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, साउन ३१ गते । जिल्लाका एक युवाले विद्यालयका विद्यार्थी र किसानको घरदैलोमा पुगेर फलफूलका बिरुवा वितरण गर्ने अभियान चलाउनुभएको छ । 

विद्यार्थीलाई वितरण गरिएको विरुवा घरमा लगेर रोप्ने तरिका सिकाउँदै आउनुभएका दक्षिण बागलुङको जैमिनी नगरपालिका-२ का सुजन सापकोटाले किसानलाई आवश्यकताको आधारमा बिरुवा वितरण गर्दै आउनुभएको छ ।

कृषि विषयमा स्नातकोत्तर गर्नुभएका सापकोटाले तीन वर्षदेखि फलफूलका बिरुवा वितरण गर्ने अभियान सञ्चालन गर्दै आउनुभएको हो । 

‘‘उत्पादनमुखि र हरियाली बागलुङ अभियान’ नारा दिएर सापकोटाले तीन वर्षमा १२ हजार बढी बिरुवा वितरण गरिसक्नुभएको छ । यो वर्ष २० वटा विद्यालय र १९ वटा वडामा चार हजार बढी बिरुवा वितरण गर्ने लक्ष्य बनाएको सापकोटाले बताउनुभयो ।

सापकोटाले सुन्तला, कागती, टिमुर, किवी, श्रीखण्ड, केरा लगायतका बिरुवा वितरण निःशुल्क रूपमा वितरण गर्दै आउनुभएको छ । स्थानीय हावापानी र माटो समेतको अवस्था हेरेर आवश्यकताको आधारमा बिरुवा वितरण गरेको सापकोटाको भनाइ छ । ‘‘अब आफ्नै नर्सरी बनाउने योजना बनाएको छु’’ सापकोटाले भन्नुभयो । 

सल्यान र रुकुमका नर्सरीबाट किनेर विद्यार्थी र किसानलाई बिरुवा वितरण गर्दैआएको सापकोटाले जानकारी दिनुभयो । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिका लक्षितगरी बिरुवा वितरण गर्नेगरेको सापकोटाले बताउनुभयो । 

कृषि प्राविधिक भएकाले बिरुवामा लाग्ने रोग किरा देखिएमा आवश्यक पर्ने उपचार पद्दतिबारे पनि जानकारी दिने गरेको सापकोटाले सुनाउनुभयो ।