विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन ३१ गते । सप्तरीको रूपनी गाउँपालिका–१, रायपुरमा घर भएकी एक महिलाले आफ्नै २० दिने छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । खडक नगरपालिका–८, बगोल भदियामा बस्दैआएकी ३० वर्षीया मानसिक संतुलन ठिक नभएकी आइसा खातुनले २० दिने शिशुको खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
खडक नगरपालिका स्थित माइतीमा घरमा बस्दै आएकी आइसाले आफ्नै छोरा २० दिने शिशुलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन् । खुकुरी प्रहारबाट गम्भीर घाइते शिशुलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनापछि खुकुरीसहित आइसालाई नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा स्वास्थ्य परीक्षण गराउँदा मानसिक सन्तुलन ठिक नभएको चिकित्सले लेखिदिएपछि उहाँलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार आइसालाई उपचार गराउन आमा र भाइसँगै प्रहरी सहायक निरीक्षक हरिराज सिंहको कमान्डमा तीन जना प्रहरी पठाइएको छ । मृतक शिशुको कोसी अस्पताल विराटनगरमा शव परीक्षण पश्चात मृतकको माइजु सचिला खातुनले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।