हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन ३१ गते । गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत कागबेनी–छुसाङ सडक कालोपत्रे गर्न सुरू गरिएको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –५ कागबेनीदेखि वडा ३ छुसाङ खण्डको १० किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्रको काम सुरू गरिएको आयोजनाका इन्जिनियर बाबुसाहेब कुमार बैठाले बताउनुभयो ।
इन्जिनियर बैठाले भन्नुभयो, ‘‘अहिले स्ट्रक्चरको काम भइरहेको छ, तोकिएको समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई सचेत बनाएका छौँ ।’’ सडकखण्ड अन्तर्गत ११ मिटर फराकिलो दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिने बताइएको छ ।
तक्सर इफ्फाटा बुद्ध जेभीसँग ठेक्का सम्झौता भएअनुसार कालोपत्रे गर्न २८ करोड ८७ लाख रुपियाँ विनियोजन गरिएको आयोजना प्रमुख धुब्रकुमार झाले बताउनुभयो । यो खण्डले तल्लो मुस्ताङलाई उपल्लो मुस्ताङमा पर्ने लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकालाई जोड्छ ।
कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिका लागि २०७४ मा काम सुरू गरिएको थियो ।
प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीले सडक सञ्जालमा बजेट अभाव हुन नदिने र अब निर्माण कम्पनीलाई ढिलासुस्ती हुन नदिने गरी काम गरिने बताउनुभयो । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी काेरिडोर सडक कोरला नाकासम्म पुगेर सम्पन्न हुने छ ।