काठमाडौँ, साउन ३१ गते । दोस्रो पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्व अध्यक्ष कुसाङ गुरुङले प्रायोजन सहयोग गर्नु भएको छ ।
गुरुङले खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको हो । पर्वत जिल्लाका गुरुङले पुरस्कारको ५० हजार रुपियाँ दौड आयोजक पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बरालबिच आदानप्रदान भएको छ । बेलायतमा बस्दै आउनुभएका गुरुङले खेलकुदको विकासका लागि निरन्त्र सक्रिय रहने बताउँदै प्रतियोगिता दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभएको छ ।
यस्तै सहारा क्लब पोखराका पूर्वअध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भएको उल्लेख गर्दै खेलकुदमार्फत् नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
यस्तै प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले प्रतियोगिता आयोजना गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।
असोज ४ गते हुने प्रतियोगितामा खुलातर्फको विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । शीर्ष १० मा रहने खेलाडीलाई पनि नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।