• २ भदौ २०८२, सोमबार

जलवायु परिवर्तनको पीडा सुनाउन सम्मेलन

blog

मुस्ताङको घरपझोङ गाउँपालिका ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन ३१ गते । जलवायु परिवर्तनका कारण मुस्ताङले भोगेको पीडा सुनाउन मुस्ताङको घरपझोङ गाउँपालिकाले सात सय ५३ वटै स्थानीय तहका प्रमुखहरूको सम्मेलनको तयारी सुरू गरेको छ । 

जलवायु परिवर्तनका कारण बाढीपहिरो, कृषि, पशुपालन तथा सम्रग मुस्ताङले भोगेको क्षति देखाउन तथा स्थानीय तहमार्फत जलवायु न्यायका लागि साझेदारी गर्न भदौ ३१ गते जलवायु परिवर्तन सम्मेलनका लागि सबै स्थानीय तहलाई पत्राचार गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो । 

‘‘स्थानीय तहको जिम्मेवारी, जलवायु परिवर्तनका लागि साझेदारी’’ भन्ने मूल नारासहित स्थानीय सरकारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दबाब दिन सम्मेलनको आयोजना गरिएको हो । 

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनले मुस्ताङका हरेक क्षेत्रमा असर गरेको बताउनुभयो । अध्यक्ष लालचन भन्नुहुन्छ, ‘‘हामीले अनेक समस्याहरू सम्मेलनमा सुनाउँछौ, सबै पालिका प्रमुखले जलवायु परिवर्तनका असरको पहिचान गरी न्यूनीकरणका लागि साझा घोषणापत्र जारी गर्ने छौं ।’ 

अध्यक्ष लालचनले मुस्ताङजस्तै हिमाली जिल्लासँगै पहाडी र तराई जिल्लामा समेत जलवायु परिवर्तनको असर देखिएकाले अब हरेक वर्ष स्थानीय तहमार्फत विनियोजित बजेटमा पनि जलवायु परिवर्तनलाई केन्द्रित गरी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । 

जलवायु परिवर्तनमा मुस्ताङले नगरेको गल्तीको सजाय भोग्नुपरेको अवस्थामा सम्मेलनमार्फत स्थानीय तहको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत हानी–नोक्सानीको क्षतिपूर्तिको मागका लागि समेत निरन्तर दबाब दिने अध्यक्ष लालचनको भनाइ छ । गाउँपालिकाले यस सम्मेलनका लागि ७५ लाख बजेट विनियोजन गरिएको छ । 

पछिल्लो समय मुस्ताङमा नियमित वर्षा हुने, उपल्लो मुस्ताङ क्षेत्रका बाढीपहिरोको समेत प्रकोपका साथै जल, जमिन, जङ्गल र हावामा पारेको असरका बारेमा विज्ञहरूमार्फत स्थानीय तहका प्रमुखलाई सुनाउने कार्यक्रम रहेको छ । सम्मेलनपछि घरपझोङ जलवायु घोषणापत्र जारीले समेत संसारको ध्यानाकर्षण हुने अध्यक्ष लालचनको भनाइ छ । 

सम्मेलनमा मुलुकभरका सात सय ५३ पालिकाका प्रमुख, विज्ञसहित सरोकारवाला निकाय गरी ४ हजारभन्दा बढीको सहभागिताको अनुमान गरिएको छ । यसैबिच सम्मेलनमा आउने स्थानीय तहका प्रमुखसहितको टोलीलाई जलवायु परिवर्तन अगाडि र पछाडिको दृष्यसहितका गतिविधि समेत स्थलगत रूपमा देखाउने तथा स्थानीय होटल, होमस्टेमा बस्ने गरी तयारी गरिएको छ ।