काठमाडौँ, साउन ३१ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाललाई बङ्गलादेश ‘ए’ ले जितका लागि एक सय ८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य दिएको छ ।
डार्विनको मरारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८६ रन बनायो ।
बङ्गलादेशका लागि ओपनर जिसम आलमले सर्वाधिक ७३ रन बनाउनुभयो । यस्तै अफिफ हुसेनले अविजित ४८, मोहमद नईमले २५ र सैफ हसनले ११ रन बनाउनुभयो ।
बलिङमा नेपालका रिजन ढकालले दुई विकेट लिनुभयो । सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले एक एक विकेट लिनुभयो । नेपाल सिरिजको पहिलो खेलमा शुक्रबार स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।
नर्दन टेरिटोरीविरुद्ध जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।