• २ भदौ २०८२, सोमबार

विश्वकै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा थुम्केरानीमा भेटियो

blog

इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा भेटिएको बश्वमै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा ।

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), साउन ३१ गते । इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटिएको छ । 

अगस्ट ४ देखि सुरु भएको ध्वासे चितुवा दिवको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाइफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी क्यामेरामा कैद गर्नुभएको हो । 

उल्लु परिवार भित्रको वैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाइफ फोटोग्राफर खरेलले जानकारी दिनुभयो । 

भारत, पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाइने गरिएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रूपमा मात्र देखिने गरिएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रूपमा उक्त चरा पाइने गरिन्छ । 

उक्त चरा लगभग एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाइमा सल्ला, लोठ सल्ला र गुराँसको वनमा पाइने गरिएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ ।

यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाइमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो । 

कानको झुप्पा नदेखिने, गोलो टाउको भएको, खैरो  र सेतो छरिएको अनुहार, खैरो शरीर, सेतो पेटमा पातलो खैरो धर्सा र पङ्खामा बार उक्त चराको शरीर रहेको हुन्छ । बाहिरी रूपमा मलाहा हुचिल जस्तो टाउकोको रूप देखिए पनि रङ र आवाजमा फरक हुन्छ ।

गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राति सक्रिय रहने गरेको र यी चराले मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठुला कीरा आहार गर्ने गरेको फाेटोग्राफर खरेलले जानकारी दिनुभयो ।

उक्त चराले हिउँदको अन्त्य देखि वसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुङ्गाको पाटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ । विश्वव्यापी रूपमा उक्त चरा स्वस्थ वनमा आश्रित रहेकाले वन विनासलगायतका कारण बासस्थान टुक्रिदै जादा विश्वमै  दुर्लभ बन्दै गएको पाइन्छ । 

वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडीले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ । 

‘‘विश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका जङ्गलमा छन् तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ,’’ खरेलले भन्नुभयो ।