प्रकाशविक्रम शाह
धनगढी, साउन ३१ गते । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ शुक्रबार स्थानीयले बहिष्कार गरेका छन् ।
सो समितिले गुर्गी सिँचाइ आयोजना पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुने तर पुननिर्माण नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेर कार्यक्रम बहिष्कार गरेका हुन ।
हाम्रो प्रदेश सभा सदस्यहरूसँग कुनै गुनासो छैन्, स्थानीय रेवन्त बोहराले भन्नुभयो, “कर्मचारीले आर्थिक अनियमित्ता गर्न हरेक वर्ष बजेट छुट्याउने, डिपिआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानबिन गरेर कारबाही हुनुपर्छ ।”
बोहराको सो मागपछि कार्यक्रममा होहल्ला सुरू भएको थियो । सो होहल्लाबिच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बोल्न सुरु गर्दा स्थानीयले कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।
५५ वर्षअघि कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा स्थानीयहरूबाट निर्माण सुरु भएको गुर्गी सिँचाइ आयोजनामा आव २०६२–६३ मा पक्की बाँध निर्माण भए पनि २०६४ सालको बाढीले सो बाँध भत्काएपछि आयोजनाको पुनर्निर्माण हुन सकेको छैन । आयोजनाबाट करिब एक हजार चार हेक्टर जमिनमा सिँचाइ हुँदै आएकोमा करिब छ हजार किसान लाभान्वित हुने गरेका थिए ।
बाँध भत्किएपछि सङ्घीय सरकारले पुनःनिर्माणको नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएको स्थानीयको भनाइ छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले समेत गुर्गी सिँचाइ आयोजनाका नाममा बजेट छुट्याउने गरेको थियो । स्थानीयहरू सरकारले हरेक वर्ष बजेट छुट्याए पनि नहर नबन्ने भएपछि आक्रोशित हुँदैआएका थिए ।
हामी स्थानीयको कुरा सुन्न आएका थियौं, तर कुरा नसुनाएरै कार्यक्रम बहिष्कार गर्नु राम्रो होइन, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले भन्नुभयो । लामो समयदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयोजना पुनःनिर्माणका लागि समितिमा थप छलफल गरेर प्रदेश सरकारलाई निर्देशन दिइने सभापति चौधरीले बताउनुभयो ।
सो कार्यक्रममा समितिका सदस्य समेत रहेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्रबहादुर मल्ल, कांग्रेस प्रदेश सभा सदस्य ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र डा. ताराप्रसाद जोशीको सहभागी हुनुहुन्थ्यो ।