अर्जुन काफ्ले
स्याङ्जा, साउन ३१ गते । अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर आयोजना गरेको छ । पालिकाभित्रका नागरिकहरू जहाँ बसोवास गरे पनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मङ्गलबारदेखि चार दिन पोखरा पृथ्वी चोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर आयोजना गरिएको हो ।
ज्येष्ठ नागरिकको सहजताका लागि पोखरामा गरिएको घुम्ती शिविरबाट २०४ जनाले लाभ पाएको गाउँपालिकाले जनाएको छ । शिविरबाट पोखरा बस्दैआएका अर्जुनचौपारी गाउँपालिका वडा–१ का १० जना, वडा–२ का २९ जना, वडा–३ का २६, वडा–४ का ३३, वडा–५ का २९ र वडा–६ का ७७ जनाले लाभ पाएका छन् ।
पालिका अध्यक्ष प्रकाश तिवारीले वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको बताउनुभयो ।
गाउँपालिकाबाट वडाध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेको तिवारीले बताउनुभयो ।