काठमाडौँ, साउन ३१ गते । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
लिगको २०२५/२६ सिजनको सुरुवाती खेलमा लिभरपुलले तुलनात्मक कमजोर प्रतिद्वन्द्वी बर्नमाउथलाई ४–२ गोलले हरायो । एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुललाई जिताउन ह्युगो एकिटिकेले ३७औँ मिनेटमा गोल गर्नुभयो ।
४९औँ मिनेटमा लिभरपुलका लागि कोडी गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि खेलमा फर्किएको बर्नमाउथका लागि न्टोइन सेमेन्योले ६४औँ र ७६ओँ मिनेटमा लगातार दुई गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
बराबरी पछि जोसिएको लिभरपुलका लागि ८८औँ मिनेटमा फेड्रिको किएसाले गोल गर्दै लिभरपुललाई पुन: अग्रता दिलाउनुभयो । इन्जुरी समयमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो । जितसँगै लिभरपुलले तीन अङ्क बनाएको छ । बर्नमाउथले हारबाट सिजनको सुरुवात गरेको छ ।
लिगको सुरुवातसँगै यस खेल भावनात्मक बनेको थियो । खेल सुरु हुनुअघि गत जुलाईमा कार दुर्घटनामा जीवन गुमाएका डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । साथै खेलाडीमाथि भएको जातीय दुर्व्यवहारको घटनाले पनि यस खेललाई भावनात्मक बनाएको थियो ।
लिभरपुल र बर्नमाउथ दुवै टोलीका खेलाडीले खेलको २०औँ मिनेटमा जोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाएर खेल्ने गर्नुहुन्थ्यो । एजेन्सी