• २ भदौ २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

blog

खेमराज सापकोटा

रानी (मोरङ), साउन ३१ गते । मोरङको बुढीगङ्गा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोरङको बुढीगङ्गा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को. ३५ प. ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक नेमुवा–३ का ३५ वर्षीय विकासकुमार भगत गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो, तर राति चिकित्सकले मृत घोषित गरेका थिए ।

यस्तै, राति नै कोशी लोकमार्गअन्तर्गत बुढीगङ्गा–३ मा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को. २१ प. ८६९२ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा पछाडि सवार विराटनगर–४ का ४२ वर्षीय कात्तिक विश्वास गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी तत्काल कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

सोही मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।