• २ भदौ २०८२, सोमबार

शिक्षा ऐनमा सबैका भावना समेटिने विश्वासः मुख्यमन्त्री आचार्य

blog

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 
बुटवल, साउन ३१ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिका प्रतिनिधिहरूसँग शनिबार बुटवलमा छलफल गर्दै आचार्यले छुटेका र अपुग विषयहरूलाई समावेश गरेर ऐन, कानुनहरूमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेश प्याब्सनका अध्यक्ष लालहरि पाण्डे र सचिव कृष्णप्रसाद शर्माले सो अवसरमा मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा ऐन संशोधनमा निजी क्षेत्रको योगदान र अस्तित्वलाई बेवास्ता गर्न नहुने भन्दै पहलका लागि अनुरोध गर्नुभएको हो ।

ज्ञापनपत्रमा नेपालको समग्र शिक्षा प्रणालीमा निजी क्षेत्रले पुर्‍याएको योगदान, विगतका उतारचढाव, कानुनी अव्यवस्था र सरकारले ल्याउन लागेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का केही प्रावधानबारे गम्भीर ध्यानाकर्षण गराइएको छ ।

प्याब्सनले २०४७ सालपछि देशमा शिक्षा क्षेत्रमा निजी लगानी तीव्र गतिमा अगाडि बढेको र हाल देशभर करिब चार लाख रोजगारी सिर्जना गर्नका साथै झण्डै ३४ लाख ५० हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको तथ्य प्रस्तुत गरेको छ ।

ज्ञापनपत्रमा राज्यले निजी विद्यालयलाई नियमनको सट्टा नियन्त्रणतर्फ झुकाव राख्दा अस्थिरता सिर्जना भएको भन्दै असन्तोष व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमा विधेयकले निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउनुपर्ने प्रावधान, पूर्ण छात्रवृत्ति, परीक्षा शुल्क, पोशाक, यातायात लगायतका सेवाहरू निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान कम्पनी ऐनको भावना विपरीत भएको बताइएको छ । यस्तो कानुन लगानीविरोधी, पूर्वाग्रही र निजी विद्यालयको अस्तित्व सङ्कटमा पार्ने खालको भएको भन्दै आपत्ति जनाइएको छ ।

प्याब्सन लुम्बिनीले तत्काल सच्याउनुपर्ने विषयमा चार बुँदे माग राखेको छ । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने वाक्यांश हटाउनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग राखिएको छ ।